अध्यक्ष समातिएपछि राप्रपा नेताहरु उग्र
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले राजावादीहरुको आन्दोलनसँग सरकार डराउँदै गएको टिप्पणी गरेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरु पक्राउ परेको जनाउँदै पाण्डेले सञ्चारकर्मीहरुसँग सरकार डराएको दाबी गरेका हुन् ।
सरकारले फागुन २५ गतेदेखि नै आफ्नो पार्टीसँग निहुँ खोजिरहेको उनको आरोप छ । ‘आज पनि हाम्रो शान्तिूर्ण जुलुसमा धरपकड गर्यो’, उनले भने, ‘आन्दोलन शसक्त बन्दै गएपछि कसरी तुहाइदिने भनेर निहुँ खोजिरहेको छ ।’
पाण्डेले आज साँझै बैठक बसेर थप आन्दोलन तय गरिने जानकारी दिए । ‘यो आन्दोलन तुहिएको छैन, तुहिँदैन । देशभक्त साथीहरुलाई हामी चाँडै नयाँ आन्दोलनको स्वरुपबारे जानकारी गराउनेछौं, तयार भएर बस्नुहोला’, उनले थपे ।
त्यस्तै,सांसद दीपकबहादुर सिंहले अब बरु गोली खाने, तर आन्दोलनबाट पछि नहट्ने बताएका छन् । सिंहदरबारबाट फुत्किएर प्रदर्शनस्थलमा पुगेका उनले ‘छातीमा गोली हान्’ भन्दै सरकारलाई चुनौती दिएका हुन् ।
‘हामी अब गोली खान तयार छौं, हिम्मत छ भने गोली हानोस्’, आक्रमक बन्दै उनले भने, ‘यो देशलाई बचाउनका लागि दुई चार गोली खान हामी तयार छौँ ।’
टिप्पणीहरू