अभिभावकहरु शिक्षकको पक्षमा

अभिभावकहरु शिक्षकको पक्षमा

अभिभावक संघ नेपालले विद्यार्थीहरुको पढ्ने अधिकार सुनिश्चितताका लागि राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गरेर उनीहरुलाई कक्षाकोठामा फर्काउन आग्रह गरिएको छ । 

संघका प्रतिनिधिहरुले आयोगसमक्ष ज्ञापनपत्र बुझाउँदै शिक्षकहरुको मागमा किन्तुपरन्तु हुनै नसक्ने उल्लेख गरेको छ । शिक्षकहरु खुशी भएमा मात्रै उनीहरुले राम्रोसँग आफ्नो पेशागत धर्म निर्वाह गर्नसक्ने संघको जिकिर छ । त्यसैगरी, कक्षा १२ को परीक्षा सञ्चालन हुने वातावरण मिलाउन आग्रह गरिएको छ ।

‘आसन्न कक्षा १२ को परीक्षासमेत प्रभाव हुन सक्नेतर्फ मानव अधिकार आयोगको समेत हामी गम्भीर रुपमा ध्यानाकर्षण गराउन चाहन्छौं, विद्यार्थीहरुको पढ्न पाउने हक, बालअधिकारको रक्षा गर्दै तत्काल आम शिक्षकहरुका समस्याको हल गरेर सामुदायिक विद्यालयहरु सञ्चालनमा आउनसक्ने विद्यार्थीहरुका पठनपाठन हुनसक्ने १२ कक्षाको राष्ट्रिय परीक्षा हुने शान्तिपूर्ण वातावरण मिलाउन आम अभिभावक तथा विद्यार्थीहरुका तर्फबाट जोडदार मागसमेत गर्दछौं’,पत्रमा उल्लेख छ । 

गत चैत २० गतेदेखि देशभरका शिक्षकहरु राजधानी केन्द्रित आन्दोलनमा सहभागी छन् । शिक्षा ऐन जारीको माग गर्दै आन्दोलनरत शिक्षकहरुले एसईईको उत्तरपुस्तिका नजाच्ने र कक्षा १२ को परीक्षा नलिने घोषणा गरेका छन् । यसबाट कक्षा १२ को परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरु अन्योलमा परेका छन् भने विद्यार्थी भर्ना अभियानसमेत प्रभावित भएको छ ।

टिप्पणीहरू