बैंककको आदर्श पुस्तकालयलाई किताब सहयोग

बैंककको आदर्श पुस्तकालयलाई किताब सहयोग

राष्ट्रिका साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष ऋषवदेव घिमिरेले बैंककमा स्थापित थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई किताब सहयोग गरेका छन् ।

थाइल्यान्डमा रहेका नेपालीभाषीको आग्रहअनुसार भाषा—साहित्यको ‘विकास, विस्तार, प्रवर्द्धन र सुधार’का लागि भन्दै कवि—साहित्यकार घिमिरेले १७५ वटा नेपाली साहित्यका पुस्तक उपलब्ध गराएका हुन्। 

म्यान्मार र थाइल्यान्डका साहित्यप्रेमी माझ परिचित घिमिरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयका काठमाडौँस्थित प्रतिनिधिलाई नेपाली साहित्यका पुस्तक हस्तान्तरण गरे । 

नेपाल नागरिक समाज, भानु प्रतिष्ठान, राष्ट्रिका साहित्य प्रतिष्ठानलगायत एक दर्जन बढी सामाजिक संघ—संगठनमा आवद्ध कवि घिमिरेको म्यान्मा र थाईका नेपालीसामु ‘मनमनमा म्यान्मा’ सबैभन्दा धेरै रुचाइएको कृत्ति हो। अझ् भनौँ— ‘रमादेवीको कथा’ कविताचाहिँ बर्मेली नेपाली युवाको मनमनमा छ । 

ललितपुर, गोदावरी निवासी साहित्यकार घिमिरेका दर्जनौँ कृत्ति प्रकाशित छन् । तीमध्ये केही म्यान्माली नेपालीको जनजीवनसँगै सम्बन्धित छन् । उनी पटकपटक म्यान्माका नेपालीहरूको घरदैलोमा पुगेका छन् । 

यस अर्थमा पनि कवि घिमिरे बर्मेली र थाई नेपाली साहित्यको समिपमै छन् । थाई नेपाली संघ बैंकक शाखाको संरक्षण र शिक्षा विभागको पहलकदमीमा स्थापित ‘आदर्श’ पुस्तकालयका पदाधिकारीहरूले साहित्यकार घिमिरेलाई पुस्तक सहयोगपछि धन्यवाद दिएका छन् । 

‘म्यान्मार र थाइल्यान्डका साहित्यप्रेमीको तर्फबाट वरिष्ठ साहित्यकार ऋषवदेव घिमिरेज्यूलाई पुस्तकका लागि एउटा अनुरोध–पत्र पठाएका थियौँ । उहाँले हाम्रो आग्रहलाई सहजै स्वीर्कानुभयो । पुस्तक सहयोगका लागि उहाँलाई धेरै–धेरै धन्यवाद छ,’ थाई नेपाली संघ बैंकक शाखा, शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपानेले भने ।

टिप्पणीहरू