दलालहरु नियुक्तिमा हावी रहेको दावी

दलालहरु नियुक्तिमा हावी रहेको दावी

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेभित्र चर्केको वर्तमान सरकारविरोधी भावना भुसको आगो झैं फैलिएको दावी गर्नुभएको छ । पार्टीको हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा भैरहवा पुग्नुभएका प्रचण्डले प्रेस सेन्टर रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेसभित्र व्यापक असन्तुष्टि देखिएको र एमालेभित्र पनि भुसको आगो झैं भित्रभित्रै पुत्पुताइरहेकाले सरकार छिट्टै ढल्ने दावी गर्नुभयो । 

उहाँले माओवादी केन्द्र भने २०८४ को निर्वाचनमा बहुमत हासिल गरेर मात्र सरकारमा जाने भएकाले सरकार बनाउने- ढाल्ने खेलमा नलाग्ने जिकिर गर्नुभयो । असंवैधानिक र अपारदर्शी ढंगले मध्यरात बिचौलियाको पहलमा बनेको सरकारबाट जनता झन् बढी निराश बनिरहेको प्रचण्डको भनाइ छ । ‘सरकार ढल्छ भनेर हामी सत्तामा जान बोलिरहेका छैनौं,सत्तारुढ दलकै महामन्त्रीहरुले नै व्यापक असन्तुष्टि पोखिरहेका छन्, बिचौलियाहरु प्रधानमन्त्रीको बेडसम्म पुगेको बताएका छन्,’ उहाँले भन्नुभयो, ‘यसले देखाउँछ कि सरकार बिचौलियाको आडमा बनेको हो, सबै नियुक्तिहरु बिचौलियाको सेटिङ्गमा भइरहेको छ ।’ 

प्रचण्डले गभर्नर नियुक्तिमा बिचौलियाहरुको तानातान रहेको भन्दै मेरिटोक्रेसीका आधारमा योग्य मानिस नियुक्त गर्न सरकारलाई सुझाव दिनुभयो । शिक्षक,डाक्टर,नर्स,राजनीतिक दलहरु सबै सडकमा रहेको, धेरैतिर असन्तुष्टि र आक्रोश बढेकाले सरकारले काम गर्न नसकेको आरोप उहाँको छ । पूर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘संविधान संशोधन गर्ने भनिएपनि सरकारले केही गर्दैन । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट देशमा शान्ति, स्थिरता र विकास हुने भएकाले हालसम्म सबै क्षेत्रले पाएका अधिकार कटौती नहुने बटमलाइन बनाएर संविधान संशोधन गर्नुपर्छ ।’

वंशवादमा विश्वास गर्नेहरुले राजा फर्काउन खोजेको उहाँको निचोड छ । चैत १५ को वितण्डाले उनीहरुको नियत स्पष्ट भएको उल्लेख गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नभएको बताउनुभयो । मण्डले, गुण्डागर्दी र आततायी क्रियाकलापले राजावादी कस्ता हुन्छन् भनेर नयाँ पुस्तालाई जानकारी भएको पूर्व प्रधानमन्त्रीको बुझाइ छ । चौतर्फी दबाबपछि कमाण्डर घोषित दुर्गा प्रसाईंलाई पक्रिएपछि सबै सेलाएको देखिएपनि कुनै बेला पुनः टाउको उठाउन सक्ने भएकाले ख्याल राख्न सरकारलाई सुझाव दिनुभयो । 

प्रचण्डले हुलाकी मार्गकेन्द्रित अभियानले शहिद, बेपत्ता परिवार, जनयुद्धका योद्धा, दलित, किसान, जनजातिहरुसँग साक्षात्कार गर्न पाइएकाले जनताले माओवादीबाट ठूलो आशा गरेको अनुभव सुनाउनुभयो । पार्टी उपाध्यक्ष नन्दकिशोर पुन, कृष्णबहादुर महरा, अग्नी सापकोटा, महासचिव देव गुरुङ्गलगायत नेताहरुसँगै अभियानमा निस्कनुभएका प्रचण्डले आज दिउँसो मर्चबारमा सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

टिप्पणीहरू