म्याडम कामुमै, युवराजको ‘ग्रीन सिग्नल’, भट्टको पल्ला भारी

नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा नियुक्त हुने पात्रबारे सहमति जुट्दै गएको बुझिएको छ । हिजो साँझ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने क्रममा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छुट्टै कुराकानीमा अब छिट्टै गभर्नर नियुक्त गर्ने सहमति जुटेको बताइन्छ ।
बिचौलिया दीपक भट्टले बोकेका भनिएका राजेन्द्रकिशोर क्षेत्री,डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको सम्भावनालाई बजारले चर्को प्रतिक्रिया जनाएपछि काँग्रेसले नयाँ नाम अघि सारेको हो । बैंकमा वरिष्ठताको आधारमा तेस्रो नम्बरमा रहेका कार्यकारी निर्देशक सुदूर पश्चिमका गुणाकर भट्टलाई गभर्नर बनाउन ओली र देउवाबीच सहमति भएको स्रोतको दावी छ । यता प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाले पनि ‘अरुभन्दा उनै ठीक’ भन्ने आशयले प्रधानमन्त्रीलाई सल्लाह दिएपछि भट्ट आगामी गभर्नर बन्ने सम्भावना बढ्दै गएको बताइन्छ ।
यसअघि चर्चामा ल्याइएका नामउपर एमालेले र उसले अघि सारेको नाममा काँग्रेस नेतृत्व असहमत भएपछि गभर्नर नियुक्ति विषय पेचिलो बन्दै आएको थियो । चैत २४ गते महाप्रसाद अधिकारीको अवकाशपछि डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिइएको छ । ढुंगानाले बैंकका सबै विभाग,महाशाखा तथा कार्यालयको जिम्मेवारी अर्का डेपुटी बमबहादुर मिश्रलाई दिएकी छन् ।
युवराजले एमाले निकट उम्मेदवारमा चासो नदेखाउनुको पछाडि आगामी फागुनमा रिक्त हुने दुई वटा डेपुटी गभर्नर नियुक्तिको विषय रहेको सहजै अनुमान लगाउन सकिन्छ । छोरीज्वाईं रामशरण खरेल चैत मसान्तको दिनदेखि कार्यकारी निर्देशकमा बढुवा भएका छन् । उनी वरिष्ठताको आधारमा अहिले सबैभन्दा पुछार अर्थात् १८ नम्बरमा छन् ।
२०५४ सालमा अन्तर्वार्ताको भरमा बैंक सेवामा प्रवेश गरेका खरेल कुनै पनि आन्तरिक परीक्षामा सहभागी नभई कार्यकारी निर्देशक बन्ने एक मात्र भाग्यशाली अफिसर भएका छन् । उनलाई कामु गभर्नर तिम्सिनाले वैशाख २ गतेदेखि मानव संशाधन विभागको जिम्मेवारी दिएपछि बैंकका कर्मचारीहरुको चर्चा छ, ‘आफू कहिल्यै परीक्षा नदिएर कार्यकारी निर्देशक बनेका खरेल अरुको परीक्षा र अन्तर्वार्ता लिने ठाउँमा पुगेका हुन् ।’
टिप्पणीहरू