जाने हैन त गुराँसपार्क ?

दोलखाको रमणीय र पर्यटकीय स्थल गुराँसपार्क जिरीको शीरमा अवस्थित छ । समुद्र सतहबाट २७ सय मीटर उचाइमा रहेको यस क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको चहलपहल ह्वात्तै बढेको छ ।
सन्त ऋतुको आगमनसँगै अहिले यहाँ रंगीविरंगीका गुराँस फुलेर पार्क नै ढकमक्क भएको छ । वन क्षेत्रको मध्यभागमा रहेको पार्कमा कृत्रिम पोखरीसहित पिकनिकको लागि पूर्वाधार निर्माण गरिएको छ । पिकनिक, हाइकिङ, क्याम्पिङ तथा गुराँस अवलोकनका लागि जानेहरुलाई सडक सञ्जाले ठूलो मद्धत पुर्याएको छ ।
यसैबीच रमणीय गुराँसपार्कको प्रवद्र्धन गर्ने उद्देश्यसहित पर्यटन प्रवद्र्धन मञ्च नेपालले ‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ गरेको छ । बागमती प्रदेशका पूर्व पर्यटनमन्त्रीसमेत रहेका प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले नयाँ वर्षको दिन (सोमबार) गुराँसपार्क अभियानको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा सांसद श्रेष्ठसहित जिरी नगरपालिकाका प्रमुख तथा जनप्रनिधिहरू, काठमाडौं महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष हिरालाल तण्डुकार, पर्यटक र स्थानीयको बाक्लो सहभागिता थियो । जिरी नगरपालिका वडा नं. ४ का जिरेल महिला समूहले सांसद श्रेष्ठलगायत पाहुना टोलीलाई गुराँसको माला र परम्परागत नृत्यमार्फत न्यानो स्वागत गरेका थिए ।
गुराँसपार्क अवलोकनपछि सांसद श्रेष्ठले उक्त भूगोललाई पर्यटकीय गन्तव्यको संज्ञा दिए । ‘यो जस्तो सुन्दर दृश्य भएको पर्यटकीयस्थल मैले बिरलै देखेको छु’, उनले भने, ‘प्रत्येक नेपाली आएर घुम्नुपर्छ भन्ने मैले लिएको छु।’ सांसद श्रेष्ठको पहलमा आर्थिक वर्ष २०८१-८१ गुराँसपार्कको पूर्वाधार निर्माणका लागि १० लाख बजेट विनियोजन भएको थियो ।
त्यस्तै काठमाडौं ११ का वडाध्यक्ष तण्डुकारले गुराँसपार्क सौन्दर्यको दृष्टिकोणले उत्कृष्ट रहेको बताए । काठमाडौंबाट आएका पाहुना भक्तशंकर श्रेष्ठले गुराँसपार्कलाई जिरीको मात्रै नभएर नेपालकै उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिने उल्लेख गरे ।
‘जाऔं है गुराँसपार्क’ अभियान युवा उद्यमी लिलाराम खड्काको सक्रियतामा ‘पर्यटन प्रर्वद्धन मञ्च, नेपाल’को ब्यानरमा आयोजना गरिएको हो । उद्यमी खड्का करिब डेढ दशकदेखि जिरी–दोलखालगायत नेपालको ग्रामीण पर्यटन विकास एवम प्रवद्र्धनमा क्रियाशील छन् ।
। यसअघि उनले ‘जाऔं है चेर्दुङ’ अभियान पनि चलाएका थिए । जसकारण जिरीको शिरमा रहेको हिलस्टेसन चेर्दुङमा अहिले पर्यटकीय चहलपहल बढेको छ ।
‘गुराँसपार्कमा पनि आन्तरिक र वाह्य पर्यटकलाई तान्न हामीले अभियान चलाएका हौं’, अभियानका संयोजक खड्का भन्छन्, ‘हामी विशेषतः प्रचारात्मक कार्यक्रममा जोड दिनेछौ । गुराँसपार्क र चेर्दुङको भिडियो र ब्रोसर पनि बनाउँछौं ।’
तस्बिरहरु
टिप्पणीहरू