पदमार्गमा नसमेटिएका ताप्लेजुङका तीन पालिका
ताप्लेजुङको तीन पालिकाले कोशी प्रदेश सरकारको पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रममा सहभागी नगराएकोमा दुःख व्यक्त गरेका छन् । मैवाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाले संयुक्त विज्ञप्ति जारी गर्दै कार्यक्रममा सहभागी गराउन आग्रह गरेका हुन् ।
सरकारको संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा सञ्चालन हुने सो कार्यक्रम यसै चालू आर्थिक वर्षदेखि शुरु हुँदैछ । तुम्लिङटार, खाँदबारी, नुम, गुफापोखरी, वसन्तपुर, जलजले, तीनजुरे, मिल्केसहित २९ स्थान कार्यक्रममा समेटिँदा पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रमलाई समावेश नगरिएको हो ।
पालिकाहरुले सो कार्यक्रममा सहभागी गराएमा आफ्नो तर्फबाट बजेट व्यवस्थापन र स्रोत बाँडफाँड गर्ने जनाएका छन् । मैवाखोला संखुवासभासँग जोडिएको छ भने गुफापोखरी नजिकसम्म पालिकाको सीमाना रहेको छ । हिमाली क्षेत्रका लागि पदमार्ग बनाउँदा मैवाखोला नै एक प्रवेश मार्ग बन्ने छ ।
मैवाखोलाको फाकुम्बा, थिङलाबु, सन्थाक्रा, लिङतेप, थुकिम्बा, नाल्बोका हुँदै पापुङको सोदोपोखरी, तोक्पेगोला पुग्न सकिन्छ । त्यसका लागि गुफापोखरीबाट छ दिन हिँड्नुपर्ने मिक्वाखोलाका उपाध्यक्ष डण्डु लामा बताउँछन् । माथिल्लो क्षेत्रका ज्ञाता उपाध्यक्ष भन्छन्,‘तोक्पेगोलाबाट संखुवासभाको थुदाम हुँदै तिब्बत जान सहज हुनेछ । तोक्पेगोलाबाट दुई दिनको सहज यात्राबाट लुङ्वाखुम्बा हिमालसमेत जान सकिन्छ । त्यहाँबाट दुई दिन हिँडेपछि ओलाङ्चुङगोला पुगिने छ, जहाँ तमोर करिडोरको सडक भेटिन्छ । त्यसको दुई दिन हिँडेपछि नाउरको राजधानी याङ्मा पुगिन्छ ।’
त्यहाँ पृथ्वीको नौलो अनुपम उपहार हेर्न सकिने उपाध्यक्ष लामाको जिकिर छ । याङ्माबाट कञ्चनजंगाको पदमार्ग, छहारे, तिम्बुङ पोखरीसहित सिक्किम र नेपालको सिमाना हुँदै चियोभञ्ज्याङसम्म पुगिन्छ । ताप्लेजुङको कञ्चनजंघा, फक्ताङलुङलगायत हिमाली क्षेत्र निकै रमणीय भएको उनको भनाइ छ । सरकारले लामो पदमार्गको योजना बनाउँदा ताप्लेजुङ नछुनु दुःखद् भएको उनको गुनासो छ ।
टिप्पणीहरू