महासागरका एक्ला टापु कमल

महासागरका एक्ला टापु कमल

कमल कोइराला अब हामीमाझ हुनुहुन्न । म यतिबेला उनी र मबीचका केही स्मरणीय सहकार्य सम्झिरहेको छु । २०१७ सालपछि हामी दरभंगा प्लेनममा सँगै थियौँ । हामी दुवैले एकै ठाउँ भोट हाल्यौँ संविधानसभाको पक्षमा । पुस १ गते राजा महेन्द्रले ‘कू’ गरेको बेला केशरजंग रायमाझीको लाइनले जित्ला भनेर मोहनविक्रम सिंहको प्रस्ताव थियो । जित्ला भनेर पुष्पलालले आफ्नो विचार संसद पुनस्र्थापना भए पनि  संविधानसभामा भोट हाल्दा पनि हुन्छ भनेपछि हामी त्यता लाग्यौं । 

२००८ सालमा कमल कोइरालाका बुवा प्रधानमन्त्री र मदन रेग्मीका बुवा गृहमन्त्री हुनुहुन्थ्यो तर बाउहरू सरकारमा हुँदा यिनीहरू भने कम्युनिष्ट बनेर विरोध प्रदर्शनमा हिँड्दथे । त्यही बखत न्युरोडबाट यिनीहरूलाई पक्रेर लगेको थियो । म त भूगोलपार्कमा बसिरहेको थिएँ । त्यहीँबाट यिनीहरूलाई लग्यो । म त्यो घटनाको प्रत्यक्षदर्शी हुँ । यिनीहरू १७/१८ वर्षका थिए होलान् । न्यूयोर्क टाइम्सले यो स्टोरी लेखेको भन्ने सुनिन्थ्यो । 

कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशन २०१४/१५ सालतिर जमलस्थित फोहोरा दरबारमा भएको थियो । त्यहाँ अहिले अमेरिकनहरूको क्लब छ । म भोलेन्टियर थिएँ । खाली सघाउने काममा मात्रै थिएँ । कमल भने त्यो बेलादेखि नै नेतृत्वमा हुनुपर्छ ।

हामी दुई जनाको साझा कुरा भनेकै पत्रकारिता र राजनीति पनि हो । उसको विषयविज्ञता त कानुनमा पनि थियो । तैपनि उनले वकालत भन्दा पत्रकारितालाई प्राथमिकता दिए । र, अन्तिम समयसम्म पनि लेख्दै रहे । पत्रकारिता मैले पनि करिब ३० वर्ष गरेँ । हामीलाई एउटा सम्पादकीय लेखेकोमा जेल हाल्दाखेरि उनले यो अन्याय हो भनेर लेखेका थिए । आर्थिक रुपमा त भरथेग गर्दैनथ्यो पत्रकारिताले ।

तर, राजनीतिक मान्छेलाई स्वतन्त्र रुपमा काम गर्ने एउटा मोर्चा पत्रकारिता पनि हो भन्ने हामी दुवैको धारणा रह्यो । र, त्यहीअनुसार काम भए । नेपाल मुक्ति आन्दोलन अथवा स्वतन्त्रता आन्दोलनमा पत्रकारिता र राजनीति अलग छैनन् । केशरजंग रायमाझीको दरबारपरस्त लाइन र महाकाली सन्धिमा पनि हामी सँगसँगै रह्यौं । 

उनका दाजुभाइ सबै कांग्रेस उनी परिवारको एक्लो कम्युनिष्ट । महासागरको टापुजस्तो । कमल कोइरालाको स्ट्याण्ड बलियो थियो । कहिल्यै विचलित भएनन् । उनी केही समय डिप्लोम्याट भएर बसे । म पनि केही समय त्यसरी नै बसेँ । हाम्रो जीवनमा पत्रकारिता, राजनीति र डिप्लोमेसी (कूटनीतिक भूमिका) एकै रहे । कमल कोइरालाको निधनले मलाई व्यक्तिगत रुपमा ठूलो चोट परेको छ ।
 

टिप्पणीहरू