विदेश गएका विद्यार्थीको अध्ययनभन्दा कमाउनेमा जोड

विदेश गएका विद्यार्थीको अध्ययनभन्दा कमाउनेमा जोड
सुन्नुहोस्

अध्ययनका निम्ति मुलुक छोड्नेहरु वर्षेनी बढ्दो क्रममा छन् । उच्च शिक्षा हासिल गर्न विभिन्न मुलुक पुग्ने नेपाली विद्यार्थीको संख्या निरन्तर बढ्दो छ । अहिले प्लस टु सकिएपछि के गर्ने ? भन्ने प्रश्नमा अधिकांश विद्यार्थीको एउटै जवाफ कि पढ्न विदेश जाने वा वैदेशिक रोजगारीमा । 

विद्यालय तहको अध्ययन पूरा भएपछि उच्च शिक्षाका निम्ति बाहिरिने ट्रेण्ड नै बसेको छ । लाखौं रकम खर्चिएर पढ्ने नाममा नेपाली विद्यार्थी विदेश गइरहेका छन् । वर्षेनी एक लाखको हाराहारीमा अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, बेलायत, दक्षिण कोरिया, बंगलादेश, फ्रान्स, फिनल्याण्ड, डेनमार्क, जर्मनी, स्विडेन, थाइल्याण्ड, रुसलगायत देशमा अध्ययनका लागि नेपाली विद्यार्थी पुगिरहेका छन् । यसले मुलुकका दक्ष जनशक्ति र मुद्रा विदेश पलायन मात्र नभई यहाँको शैक्षिक प्रणाली र गुणस्तरमाथि नै प्रश्न खडा गरिदिएको छ । 

आखिर किन वैदेशिक अध्ययनमा विद्यार्थीहरुको लर्को लागिरहेको छ ? यसबारे सरोकारवालाहरुले गम्भीर रुपमा अध्ययन गरी समाधान खोज्न आवश्यक रहेको जानकारहरु बताउँछन् । 

एक दशकमा साढे ६ लाख विद्यार्थी विदेश 

वैदेशिक अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या बढिरहेको सरकारी तथ्याङ्कले नै देखाउँछ । पछिल्लो एक दशकमा करिब साढे छ लाख विद्यार्थी अध्ययनका लागि विभिन्न देश गएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१–०७२ देखि २०८०–०८१ सम्ममा ६ लाख ३९ हजार १४८ जना विद्यार्थी उच्च शिक्षा हासिल गर्न विदेश गएका छन् । तीमध्ये पछिल्ला तीन वर्षमा भने एक लाखभन्दा बढी विद्यार्थीले विदेशमा अध्ययन गर्न वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएको मन्त्रालयले जनाएको छ । 

विगतका वर्षमा २८ हजारदेखि ६३ हजारको हाराहारीमा विद्यार्थी विदेशिने गरेकोमा कोरोना महामारीपछि अर्थात् २०७८–०७९ सालयता एक लाखले विदेशमा अध्ययन गर्न एनओसी लिएको पाइन्छ । 

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१–०७२ मा ३० हजार ७९७ जना विद्यार्थीले एनओसी लिएका थिए । तर, गत वर्ष एक लाख १२ हजार ९६८ जना विद्यार्थीले विदेशमा अध्ययन गर्न एनओसी लिएको मन्त्रालयले जनाएको छ ।  

यसरी विदेशिने नेपाली विद्यार्थीको प्रमुख आकर्षक गन्तव्य भने अष्ट्रेलिया, अमेरिका र क्यानडा देखिन्छ । त्यसपछि बेलायत, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, जापान, न्यूजिल्याण्ड, चीन, भारत, दक्षिण कोरिया, बंगलादेश, स्पेन, बहराइनजस्ता देशमा पनि अध्ययनका निम्ति नेपाली विद्यार्थी पुगेका छन् । 

चालु आर्थिक वर्ष २०८१–०८२ को फागुन पहिलो सातासम्म ९२ हजार ६ सय ४८ जनाले एनओसी लिएका छन् । 

सात महिनामै ६४ अर्ब बाहिरियो 

उच्च शिक्षा हासिलका लागि विदेश जाने विद्यार्थीको संख्या बढेसँगै मोटो रकम विदेशिन थालेको छ । वैदेशिक रोजगारबाट ठूलो मात्रामा रेमिट्यान्स आप्रवाह भइरहेपनि पढ्ने नाममा विद्यार्थीले त्यत्तिकै रकम विदेश लैजाने गरेका छन् । 

नेपालले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएपनि विभिन्न बहानामा मुलुकबाट मोटो रकम विदेशिएको छ । अध्ययनको निम्ति विदेश पुगेका विद्यार्थीले विश्वविद्यालय, कलेजलाई तिर्नुपर्ने शुल्क भन्दै मासिक अर्बौ रकम लगिरहेका छन् । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१–०८२ को पछिल्लो सात महिनामा उच्च शिक्षा अध्ययन गर्न विदेश गएका विद्यार्थीले ६४ अर्ब १५ करोड रुपैयाँ लगेका छन् । गत वर्ष पढ्ने नाममा साढे एक खर्ब रकम बाहिरिएको थियो । 

उच्च शिक्षाको बहानामा वर्षेनी खर्बौ रकम विदेशिँदा अर्थतन्त्रमा चाप थपिएको छ । एकातिर मुलुकका दक्ष युवा पढ्ने नाममा विदेशमै सेटल हुने, अर्कोतिर धनराशी पनि बाहिरिँदा यसबाट मुलुकलाई ठूलो क्षति पुगिरहेको अवस्था छ । 

पढ्नेभन्दा कमाउने लोभ 

नयाँ युवा पुस्ताले मुलुकमा भविष्य देख्न छाडेका छन् । विदेश गएर नकमाए जीविकोपार्जन नै गर्न सकिने भाष्य निर्माण हुँदै गएको छ । अर्कोतर्फ, हाम्रो शैक्षिक अवस्थाले पनि विद्यार्थीमा नैराश्यता बढाएको छ ।
 
विद्यालयमा पढाईभन्दा राजनीति बढी हुँदा कतिपय विद्यार्थी गुणस्तरीय शिक्षाको खोजीमा विदेश पुग्ने गरेका छन् भने अधिकांश पढाइसँगै कमाउन । विदेशमा विद्यार्थीले पढाईसँगै काम पनि गर्न पाउने व्यवस्थाले आकर्षण थपेको हो ।

यद्यपि, यहाँ भने शिक्षा हासिल गरेर पनि रोजगारी नपाइने र पाइहालेमा राम्रो आम्दानी नहुँदा युवाहरु देशमै बस्न नचाहेको देखिन्छ । अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोप, जापानलगायत देशमा अध्ययनरत विद्यार्थीले साताको निश्चित घण्टा काम गर्न पाउँछन् । बिदाको समयमा भने पूरा समय काम गर्न पाइन्छ । यसरी पढाईसँगै आम्दानी पनि गर्न सकिने भएकाले पछिल्ला वर्षमा वैदेशिक अध्ययनमा विद्यार्थीको आकर्षण बढेको हो ।

विश्वविद्यालय रित्तिँदै 

वैदेशिक अध्ययनका निम्ति वर्षेनी लाखौंको संख्यामा विद्यार्थी विदेशिने क्रमसँगै मुलुकका विश्वविद्यालय र क्याम्पसहरु रित्तिँदै गएका छन् । अहिले विद्यार्थी पाउन क्याम्पसहरुलाई मुस्किल पर्न थालेको छ । 

मुलुकको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयकै अधिकांश विभाग खालीझैँ देखिन्छन् । यसका आंगिक क्याम्पस र सम्बन्धनप्राप्त निजी कलेजका कक्षा कोठा पनि रित्तिँदै गएको छ । 

उपत्यकाभित्र र बाहिरी जिल्लाका सरकारी तथा निजी क्याम्पसहरुमा पनि विद्यार्थी अभाव चुलिँदो छ । विद्यार्थी नपाएपछि क्याम्पसहरु बन्द हुने स्थितिमा पुगेका छन् । 

विश्वविद्यालय अनुदान आयोगद्वारा गत पुसमा सार्वजनिक प्रतिवेदनअनुसार देशभरका पाँच सय बढी क्याम्पस विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् । 

ती क्याम्पसमा एक सय विद्यार्थी पनि नरहेको प्रतिवेदनमा उल्लेख छ । विद्यार्थी न्यून भई बन्द हुने अवस्थामा पुगेका अधिकांश क्याम्पस त्रिविअन्तर्गतकै छन् । त्रिविका १९ आंगिक, एक सय ७८ सामुदायिक र तीन सय ८ वटा निजी क्याम्पस बन्दको संघारमा पुगेको प्रतिवेदनमा जनाइएको छ ।

युवामा आशा जगाउन र विदेशमोहको तथ्य खोज्न विज्ञहरुको सुझाव

देशमा बसेर केही गर्न सकिँदैन भन्ने मनोभाव नयाँ पुस्तामा बढिरहेको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् । उनीहरुमा देशमै सम्भावना र अवसर छ भन्ने आशा जगाउन आवश्यक रहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘आजकल नेपालमा बसेर के हुन्छ ? भनी विद्यार्थी शिक्षकलाई सोध्छन् । अभिभावक पनि आफ्ना छोराछोरी विदेश नै जाओस् भन्ने चाहन्छन् । नेपालमा बसे केही उन्नति, प्रगति नहुने भ्रम सिर्जना भइरहेको छ । यो चिर्न आवश्यक छ । देशमै सम्भावना र अवसर छ भनेर युवा पुस्तामा आशा जगाउनुपर्छ ।’

विदेशमा कमाउन र पढ्नसँगै पाइने हुँदा नेपाली विद्यार्थीहरु त्यसतर्फ आकर्षित भएको उल्लेख गर्दै कोइरालाले थपे, ‘विद्यार्थी रोक्न यहाँ पनि त्यँही व्यवस्था लागू गर्न सरकारले सोच्ने कि !’ अर्कोतर्फ, रिजल्ट समयमै नआउने भएकाले पनि विद्यार्थीहरु वैदेशिक अध्ययनमा आकर्षित भएको उनको भनाइ छ । 

‘परीक्षा दिएको वर्षौसम्म नतिजा आउँदैन । नतिजा आएर केही गरी फेल भएमा अर्को परीक्षा दिन फेरि वर्षौ कुर्नुपर्छ । विदेशमा चार वर्षमा पुरा हुने कोर्स यहाँ आठ वर्षसम्म सकिन मुस्किल पर्छ । यसैले, पनि विद्यार्थी नेपाल नटिकेका हुन्,’ शिक्षाविद् कोइरालाले भने ।

अहिले सूचना प्रविधिको आधुनिक युग रहेपनि हामी कहाँ भने अझै पनि कक्षा कोठामै बसेर शिक्षा हासिल गरिनुपर्छ भन्ने मान्यता रहेको भन्दै उनले शिक्षालाई प्रविधिमयी बनाउनुपर्नेमा पनि जोड दिए । 

भने, ‘अन्य देशमा अनलाइन र भौतिक क्लास दुवै हुन्छ । हामी कहाँ भने भौतिक उपस्थितिमै शिक्षा हासिल हुनुपर्ने मान्यता छ । शिक्षा त जहाँबाट जसरी पनि लिन सकिने खालको हुनुपर्छ । जरुरी यो हो कि त्यो सही रुपमा ग्रहण हुनुपर्यो ।’

सरकारले वैदेशिक अध्ययनमा जान एनओसी दिने तर किन यत्रो संख्यामा विद्यार्थी विदेश गइरहेका छन् ? भनी अध्ययन नगर्ने शिक्षाविद् कोइरालाको भनाइ छ । उनले अब एनओसी बाँड्नुभन्दा पनि विद्यार्थी किन यहाँका राम्रा कलेज र विश्वविद्यालय छोडेर लाखौं खर्च गरी पढ्न विदेश गइरहेका छन् ? यसबारे सरोकारवालाहरुले अध्ययन गरेर समाधान खोज्न आवश्यक रहेको बताए ।

टिप्पणीहरू