प्रबुद्धका हेडसरलाई सात दिने पूर्जी

प्रबुद्धका हेडसरलाई सात दिने पूर्जी

स्कुल छोडेर बेपत्ता ओखलढुंगाको एक विद्यालयका प्रधानाध्यापकको खोजतलास अघि बढेको छ । तालुक अड्डा शिक्षा विकास निर्देशनालयले आज सार्वजनिक सूचना निकालेर कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो । 

सुनकोशी गाउँपालिका–७, स्थित प्रबुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुप्रसाद खतिवडा झण्डै ६ महिनादेखि बिना जानकारी गैरहाजिर रहेको सूचनामा उल्लेख छ । निर्देशनालयले सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन भनेको छ । 

यसअघि विद्यालयले पटकपटक पत्राचार गर्दासमेत खतिवडा हाजिर हुन नआएको बताउँदै निर्देशनालयले शिक्षा ऐन, २०२८ (संशोधनसहित) र नियमावली, २०५९ बमोजिम शैक्षिक नोकरीबाट किन नहटाउने ? भनी सोधेको छ । तोकिएको समयावधिभित्र स्पष्टीकरण पेश नगरिएमा कारबाही गर्ने निर्देशनालयको चेतावनी छ ।
 

टिप्पणीहरू