एकपटक रिह्याबको भिसा लागेपछि लाग्यो लाग्यो

परिवार, आफन्त वा इष्टमित्रमा कोही लागुऔषध वा मद्यपानको कुलतमा लागेर उसलाई सुधार्न रिह्याब पठाउने सोच्नुभएको छ भने एकपटक गम्भीर भएर विचार गर्नुहोला,किनकि त्यहाँ एकपटक राखेपछि पटकपटक हो। ‘रिह्याब’ अर्थात् सुधार केन्द्रमा बसेर गएपछि नशा सेवन गर्दै नगर्ने त १०० मा मुश्किलले एक–दुई जना मात्र हुन्छन्। नत्र फेरि आएर पहिलेभन्दा धेरै नशा खान थाल्छन्, अझ बढी अनियन्त्रित हुन पुग्छन्।
रिह्याबबाट आएर एकाध महिना, २–४ महिना नसा सेवन बन्द गरेकाहरूसमेत पुनः सेवनमा लाग्दा अस्तव्यस्तता बढ्ने गरेको छ । रिह्याबभित्र क्लायन्टहरूलाई थुनेर, त्राहीत्राही बनाएर राखिने हुँदा मानसिक रूपमा विचलित हुन पुग्छन्। ‘नेपाल सरकारको कानुन यहाँ चल्दैन, पुलिस पनि आउन पाउँदैन, रिह्याबभित्र आफ्नै कानुन चल्छ’ भन्ने जस्ता कुरा गरेर अनेक सजाय र कुटपिटको त्रासैत्रासले बाँधेर राखिन्छ । फेमिली भेट्न आउँदा ‘म ठीक छु, ठीक भइरा’छु’ नभने फेमिली गएपछि भित्र लगेर अनेक दुःख दिने र कुटपिट गर्ने काम हुन्छ । रिह्याबभित्र चित्त नबुझेको कुरा पनि भन्न पाइँदैन, जवाफ फर्काएको भन्दै झन् दुःख दिइन्छ । जे भनेपनि, जे गरेपनि, गराएपनि सहेर बस्नुपर्ने विवशताले क्लायन्टहरू भित्रभित्रै अत्तालिइरहेका हुन्छन्। बरु जेल जानेहरूको घर फर्कने दिन निश्चित हुन्छ तर रिह्याबमा नहुँदा क्लायन्टहरू ठूलो मानसिक तनावमा पर्ने गरेका छन्।
अनिश्चयको घेराभित्र पिँजडाको सुगाझैं फट्फटाएर बस्नुपर्दा मानसिक स्थितिमा असर किन नपरोस्? त्यसो त रिह्याब सञ्चालकलाई मन नपरेको अवस्थामा क्लायन्टलाई एकदिन पनि वर्षदिन जस्तो बनाएर राख्छन्। भित्रभित्रै मारेर भाग्यो भनिदिन्छन् कि भन्ने डर छ । किनकि रिह्याबबाट कोहीकोही भाग्छन्। कहीँकहीँ रिह्याबभित्र चर्काे कुटपिट गर्दा क्लायन्टको हातखुट्टा भाँचिएको र मरको पनि सुनेका छौं । पहिलेपहिले तीन महिनाको प्याकेज हुन्थ्यो। व्यवसायिक लाभका हिसाबले पछि बढाएर छ महिनाको प्याकेज भनिए पनि परिवारसँग कुरा गरेर कतिलाई त ८–१० महिना अनि एक–डेढ वर्षसम्म राख्ने गरेको पाइन्छ ।
परिवारका मान्छे चाँडै लिन आउँदा ‘बल्ल अलिअलि राम्रो हुँदैछ, अलि टाइम लाग्छ’ भन्दै अनेक काउन्सिलिङ गरेर ६ महिना र त्योभन्दा बढी पनि राख्ने गरिएको छ । छोड्नेले एकै महिनामा पनि नशा छोडेका छन्। नशा सेवनको मामिलामा प्रहरी हिरासतमा एक–डेढ महिना बसेकाहरू पनि सुध्रने सुध्रिन्छन्। तर एक–डेढ वर्ष नै रिह्याबमा बसेर आएकाहरू पनि फेरि नसामा लागेर अझ बढी अनियन्त्रित भई परिवारले अर्काे विकल्प नदेखेर फेरि रिह्याबमै राख्नुपरेका घटना थुप्रै छन्।
रिह्याबहरूमै भनिन्छ, ‘एकपटक रिह्याबको भिसा लागेपछि पटक–पटक हो।’ घर गएर एक–दुई वर्ष, २–४ वर्षै नशा सेवन बन्द गरे पनि फेरि बानी बिगार्ने धेरै नै छन्। एकपटक ड्रग्सको लतमा परिसकेकाहरूले त्यसको गुड टेस्ट कहिल्यै बिर्सन सक्दैनन्भन्ने छ । फेरि अर्काे कुरा, नशा खान छोड्नुमात्रै पनि सम्पूर्ण समाधान होइन रै’छ । परिवार, कामकाज र जीवन व्यवस्थित नभए के अर्थ ? विचार गर्नुपर्ने कुरा के छ भने मानौं, नशा खाने कोही चारजना छन्। तीमध्ये दुईजनालाई रिह्याब लगियो। दुईजनालाई लगिएन भने रिह्याबबाट आएकाहरूले फेरि आएर नशा सेवन गर्दा पहिलेभन्दा झन् धेरै खाने र अझ बढी नै अस्तव्यस्त हुन पुग्ने गरेको स्थिति छ । रिह्याब नलगिएकाहरू चाहिँ नशा खाए पनि त्यति साह्रै अनियन्त्रित हुँदैनन्, ठीकै, सामान्य ढंगले नै जीवन चलाइरहेको देखिन्छ । रिह्याब बसेपछि मानसिक उतारचढाव बढ्छ ।
रिह्याबभित्र छिनमै दुःख दिने, अत्याउने, सताउने अनि एउटा चुरोट र एक फ्वाँक सुर्ती बढी दिएर छिनमै माया गरेजस्तो पनि गरिन्छ । रिह्याबहरूमा सुत्ने, उठ्ने, खाने–बस्ने सबै अरुकै अधीनमा हो। नत्र सास फेर्नबाहेक आफ्नै हिसाबले आँखा घुमाउन पनि गाह्रो छ । रिह्याबहरूबाट धेरैजसो सोयाबिन, आलु, दालभात खाई मोटाएर निस्कने र केही समय नशा पनि नखाने हुँदा पछि फेरि सेवन गरेर अव्यवस्थित र उग्र भएपछि परिवारले चाहेर नचाहेर पुर्याउने भनेको रिह्याबमै हो।
अस्पताल लगेर साइकियाट्रिक औषधि खुवाउँदा पनि मानसिक स्वास्थ्यमाउतारचढाव देखिने गरेको छ । रिह्याबहरूमा क्लायन्टहरू बिरामी हुँदा वा कुनै अवस्थामा औषधि दिँदा ‘कुन औषधि हो, के औषधि हो?’ पत्तै हुन्न । औषधिबारे प्रश्न गर्न वा खान्न भन्न पनि नपाउने। रिह्याबकै स्टाफहरूले आँ गर्न भन्छन्, मुखमा क्वाप्प हालिदिन्छन्, खानैपर्यो। सामान्यतया रिह्याबहरूमा महिनाको २०÷२२ हजार रूपैयाँसम्म शुल्क लिन्छन्। तर पाँच–सात महिना क्लायन्टलाई राख्दा पनि एउटा तन्ना र बेडसमेत दिन्नन्। आज एउटालाई सुतायो, पछि त्यही ओढ्ने–ओछ्याउनेमा अर्काेलाई सुतायो। फेरि अर्काको बिस्तरामा अर्कोलाई, अर्कोको बिछ्यौनामा अर्कालाई सुत्न लगायो। त्यसरी अरुको ओढ्ने ओछ्याउनेमा सुत्दिनँ भन्न पनि नपाउने हुन्छ । त्यसो भने ‘तेरो घरबाट ल्याथिस्’ भनेर उल्टै हप्काउने र बढी बोलेको भन्दै कुट्नेसमेत गरिन्छ ।
रिह्याबहरूमा ल्याइने कति त रोगी, बिरामी पनि हुन्छन्। घाउखटिरा, दाद, लुतो बोकेर आउँछन्। सबैलाई एउटै ओछ् यान प्रयोग गर्न लगाइने, एउटै बेडमा दुई–तीन जनासम्मलाई टाँसेर सुताउने गर्दा कति त रिह्याबबाटै छालाको र अरु स्वास्थ्य समस्या पनि लिएर जान्छन्। कपडा पनि आ–आफ्नो धुन पाइँदैन, सबैको कपडा एउटै भाँडोमा भिजाएर ४÷५ जनालाई धुन लगाइन्छ, त्यो धुवाइ पनि राम्रो हुँदैन । यसले कपडाबाट फैलने रोगहरू एक–अर्कामा सर्ने गरको छ ।
रिह्याबहरूमा घरबाट कपडा ल्याउन ढिलो हुँदा परिवारलाई ‘यहीँ कपडाको व्यवस्था भइरा’छ’ भन्दै यता बोरामा खाँदेर राखेका अरुकै पुराना कपडा लगाउन लगाइन्छ । अरुको कपडा पनि लाउन्न भन्न नपाइने। अरु त अरु अण्डरवेयरसमेत अरुकै लगाउन बाध्य पारिन्छ । यिनीहरू बिग्रेर परिवारले सुधार्न पठाएका हुन्, हाम्ले जे गरे नि हुन्छ भन्ने जस्तो गरिन्छ । क्लायन्टहरूलाई मुख छोडेर तल्लो स्तरको गालीगलौज गर्ने, सानोतिनो गल्ती कमजोरी हुँदा पनि दुःख दिने, अत्याउने र कुट्ने गरिन्छ । प्रायः क्यामेरा नभएको ठाउँहरूमा स्टोरतिर लागेर कुटपिट गरिन्छ । यता, परिवारलाई भने ‘तपाईंको मान्छेमा सुधार हुँदैछ, राम्रो हुँदैछ, अब केही समय लाग्छ’ भनी दालभात खुवाई अलि मोटाएको फोटो देखाएर खुशी पारिदिन्छन्। बाहिर भन्न त लभ एण्ड केयर भनिन्छ तर भित्र उही हो। भित्रभित्रै त्रसित, विचलित भएर बस्नुपर्दा क्लायन्टहरू मानसिक समस्याबाट गुज्रिने गरेको पाइन्छ ।
बिग्रेकालाई सुधार्न ल्याइने रिह्याबहरूमा सद्देलाई पागलसमेत बनाउन सकिन्छ भनेर त त्यहीँभित्रै पनि भनिइरहने कुरा हो। एकपटक रिह्याब राखिएपछि २–४ पटक, ५–७ पटक र २०–३० पटकसम्म पटक–पटक रिह्याब जानुपरेका केस धेरै नै छन्। परिवार वा आफन्तले भनेकै भरमा सम्बन्धित व्यक्तिसँग उसको समस्या, विवशता र अवस्थाबारे बुझ्दै नबुझी रिह्याबवालाहरूले जहाँ भेट्यो त्यहीँबाट च्यापचुप समातेर अपहरण शैलीमा गाडीमा हालेर लग्ने प्रवृत्तिले कतिपय अवस्थामा घरायसी र व्यक्तिगत मनमुटाव र रिसीइबी साँध्न पनिनशाको निहुँमा रिह्याब पठाउने गरिएको समेत बताइन्छ ।
टिप्पणीहरू