माओवादी मन्त्रीद्वारा राजा समर्थकको नियुक्ति

माओवादी मन्त्रीद्वारा राजा समर्थकको नियुक्ति

पूर्व राजा ज्ञानेन्द्र शाहलाई सरकारी लेटर हेडमा ‘श्री ५’ सम्बोधन गर्ने रमेशराज बाँस्तोलालाई माओवादी नेता तथा तत्कालीन संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवर्तक (tourism representative) मा नियुक्ति दिलाएको पाइएको छ । पोर्चुगलको लिस्बन बस्ने उनै बास्तोलाले सरकारी कागजमा पूर्व राजालाई स्वागत तथा ऐक्यबद्धता जनाएवापत नयाँ पर्यटन मन्त्री बद्रि पाण्डेले २४ घण्टे स्पष्टीकरण सोध्न लगाएका छन् । 

सरकारी लोगो तथा लेटरप्याड दुरुपयोग गरेको कारण पुर्जी काट्न परेको ब्यहोरा उल्लेख गर्दै भनिएको छ,‘उक्त सम्बन्धमा गैरजिम्मेवारपूर्ण कार्य गरेबापत पर्यटन प्रवर्धकसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम निजलाई जिम्मेवारीबाट तत्काल नहटाउनुपर्ने कुनै कारण भए २४ (चौबिस) घण्टाभित्र यस मन्त्रालयमा लिखित स्पष्टीकरण पेश गर्न निर्देशन गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ 

बास्तोलाले राजाको समर्थनमा लेखेका छन्, ‘मिति २०८१ फाल्गुण ७ गते,राष्ट्रको रक्षा,राष्ट्रिय एकता कायम राखी,देशको समृद्धि,उन्नति,प्रगति तथा कला,संस्कृति र नेपाली गौरवको लागि राष्ट्र र राष्ट्रवासीको नाममा व्यक्त  शुभकामना सन्देश तथा राष्ट्र जोगाउन गरिएको आग्रहलाई हार्दिक स्वागत गर्दछु। नेपालमा संवैधानिक राजसंस्थासहित हिन्दू, बौद्ध र किरात राष्ट्र निर्माण गर्नका लागि सम्पूर्ण राष्ट्रवादी शक्ति, देश–विदेशमा रहेका नेपाली दाजुभाइ,दिदीबहिनी, आमाबुबाहरूलाई यो घडीमा राजसंस्थालाई साथ दिन अनुरोध गर्दछु ।’ 

बास्तोलालाई किरातीले २०८० फागुन १३ गते पर्यटन प्रवर्धक नियुक्त गरेका थिए । नेपाल पत्रकार महासंघ युरोपको सचिव समेत रहेका उनलाई युरोपस्थित माओवादी नेताहरुको सिफारिसमा ततकालिन सरकारले उक्त जिम्मेवारी दिएको थियो ।

टिप्पणीहरू