होलीमा यस्तोचाहिँ नहोस्
होली आउन अब केही दिनमात्रै बाँकी छ । पहाड र तराईमा अलग दिन र फरक शैलीमा मनाइने यो पर्वमा अलि बढी नै अवाञ्छित एवम् उच्छृङ्खल गतिविधि हुने गरेको पाइन्छ ।
फागू पर्वले पनि चिनिने होलीमा रमाइलो गर्ने नाममा कसैको इच्छा विपरीत रंग दल्ने, पानी तथा हिलो छ्याप्ने, प्लाष्टिकजन्य लोला हान्ने, बाटोमा हिँड्ने व्यक्तिहरुलाई अनावश्यक दुःख हैरानी दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, आवागमनमा अवरोध सिर्जना गर्नेजस्ता गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले सूचित गरेको छ ।
सार्वजनिक सूचनामा मादक पदार्थ तथा नसालु पदार्थ खुवाउने, त्यस्तो पदार्थ सेवनगरी सवारी साधन चलाउने, सार्वजनिक स्था नहरुमा हो–हल्ला गर्ने, चर्काे आवाजमा बाजा (डिजे) बजाउने जस्ता क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न-नगराउन भनिएको छ ।
यस्ता अवाञ्छित क्रियाकलापहरु गरे-गराएको पाइएमा कडा कारबाही हुने सिडिओ कार्यालयको चेतावनी छ ।
रंगहरुको पर्व फागु पूर्णिमा (होली) को उपलक्ष्यमा जिल्लावासीमा शुभकामना व्यक्त गर्दै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले भनेका छन्, ‘यो जिल्ला सांस्कृतिक, पुरातात्विक तथा पर्यटकीय नगरीको रुपमा समेत विशिष्ट पहिचान भएको हुँदा होली मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरी सभ्य, भव्य र सु–संस्कृत रुपमा होली पर्व मनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।’
टिप्पणीहरू