समाचार जनआस्थामा, लफडा मन्त्रालयमा
जनप्रतिनिधि र मारवाडी बाझाबाझ गर्ने, मन्त्री हेरिरहने !– उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा हिजो त्यस्तो तमासा देखियो ।
चुनावमा लागेको ऋण उठाउन घोराही सिमेन्टका मालिक पुरुषोत्तमलाल (पिएल) संघाईसँग दुई करोड रुपैयाँ बार्गेनिङ गरेको भनिएका रोल्पाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा र उपाध्यक्ष लेखमणी डाँगी हिजो मन्त्रालय पुगेका थिए । त्यसबारे उत्पन्न विवाद छिनोफानो गर्न मन्त्री दामोदर भण्डारीको मध्यस्थतामा बोलाइएको बैठकमा बाँठा र डाँगीसहित वडाध्यक्षहरु तिलाकुमारी वली, गंगाप्रसाद घर्ती र व्यवसायी संघाईसहितको उपस्थिति थियो ।
माघ तेस्रो साता लुम्बिनी प्रदेश सभाको बैठकमा सांसद तथा पूर्वमन्त्री दिपेन्द्र पुन सिजलले पालिका अध्यक्ष र उपाध्यक्षले संघाईसँग दुई करोड मागेको दाबी गरेका थिए । व्यवसायी संघाईले पनि जनआस्थासँगको हालैको कुराकानीमा बाँठा र डाँगीले आफूसँग पैसा मागेको तर नदिएको दाबी गरेका थिए ।
त्यसपछि अत्तालिएका दुबैजनाले मन्त्री गुहारेपछि हिजो गोप्य छलफल आयोजना गरिएको बताइन्छ । तर, छलफलका क्रममा बाँठा र डाँगीले व्यवसायी संघाईलाई ‘पैसा मागेको होइन र भेट पनि भएको छैन’ भन्ने व्यहोराको विज्ञप्ति निकाल्न घुमाउरो दबाब दिएपछि एकाएक माहोल तातिएको हो ।
समाचार स्रोतका अनुसार जनप्रतिनिधिको दबाबपूर्ण आग्रह संघाईले ठाडै अस्वीकार गरेका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो विज्ञप्ति–सिज्ञप्ति निकाल्ने काम मबाट हुँदैन । मैले पैसा दिएन, त्यो बेग्लै कुरा हो । तर, तपाईंहरुले पैसा त माग्नुभएको हो नि । मैले किन विज्ञप्ति निकाल्ने ?’
बाँठा र डाँगीले भने विज्ञप्ति ननिकाले बुढागाउँमा चुनढुंगा उत्खनन् गर्न नदिने चेतावनी दिएको स्रोतले बतायो । ‘पैसा मागेका हुन् भनेर जनआस्थालाई किन भनेको ? तपाईंसँग प्रमाण छ ?’ भन्दै उनीहरु उत्तेजित हुँदा संघाईले ‘प्रमाण त हामी तीनै जना हौँ, कि होटलको सिसिटिभिको फुटेज निकाल्नुपर्छ र ?’ भनेपछि थप चर्काचर्की परेको थियो ।
‘बाझाबाझ’ चर्किंदै गएपछि छेउमा रहेका मन्त्री भण्डारीले ‘खानीको कुरा गरौँ न’ भनी सामसुम पार्न खोजेका थिए । तर, बाँठा र डाँगीले संघाईतर्फ औंलो तेस्र्याउँदै मन्त्रीलाई पोल लगाए, ‘उहाँले किन बोल्दै हिँड्नुपर्यो भन्या, पैसा दिनुभएको पनि होइन ।’ कहिले पैसा मागेर त कहिले खानी सञ्चालनमा अवरोध खडा गरेर दुःख दिएकाहरु आफूमाथि खानिएपछि संघाई पनि निकै रिसाएको समाचार स्रोतले सुनायो ।
चुनढुंगा उत्खनन् विवाद सुल्झाउन मन्त्री भण्डारीले डाकेको बैठक दुई करोड काण्डले मुख्य विषयमा प्रवेश नै गरेन । घण्टौं कुराकानी हुँदा पनि सहमति नजुटेपछि पीडित संघर्ष समितिका संयोजकलाई समेत वार्तामा बोलाउनुपर्ने निष्कर्षसहित छलफल स्थगित गरिएको बताइएको छ ।
स्मरणरहोस्, व्यवसायी संघाईले अस्ति जनआस्थासँग बाँठा र डाँगीेले दुई करोड मागेको तर आफूले नदिएको खुलाएका थिए । उनले भनेका थिए, ‘उनीहरु भेट्न आएका हुन्, पैसा पनि मागेकै हुन्, तर मैले दिइनँ । त्यहाँ धेरै राजनीतिकरण भइरहेको छ, मलाई धेरै दुख दिइसके ।’
उता एमालेको गाउँपालिका र जिल्ला कमिटीले विज्ञप्ति निकालेर बाँठा र डाँगीमाथि मिथ्या आरोप लगाइएको दाबी गरिरहँदा यता व्यवसायी संघाईको प्रस्टीकरणले उनीहरुको प्रतिवाद कमजोर सावित भएको छ । आगामी राजनीतिक भविष्य नै जोखिममा परेपछि यतिबेला बाँठा र डाँगी तिल्मिलाएको स्थानीयको बुझाइ छ ।
याे पनि...
चुनावको ऋण तिर्न सिमेन्ट उद्योगका मालिकसँग जनप्रतिनिधिको ‘बार्गेनिङ्ग’
टिप्पणीहरू