चुनावको ऋण तिर्न सिमेन्ट उद्योगका मालिकसँग जनप्रतिनिधिको ‘बार्गेनिङ्ग’
चुनावमा लागेको ऋण तिर्न जनप्रतिनिधिले सिमेन्ट उद्योगका मालिकसँग रकम ‘बार्गेनिङ्ग’ गरेको अरोपमा नयाँ तथ्य खुलासा भएको छ । रोल्पाका दुई जनप्रतिनिधिमाथि घोराही सिमेन्टका मालिक पुरुषोत्तमलाल (पिएल) संघाईसँग दुई करोड मागेको आरोप लागेको थियो । तर, उनीहरुले आरोप अस्वीकार गरिरहँदा संघाई स्वयम्ले आफूसँग पैसाको मोलमोलाई गरेको प्रतिक्रिया दिएपछि यो घटनाले नयाँ मोड लिएको हो ।
माघ तेस्रो साता लुम्बिनी प्रदेश सभा बैठकमा सांसद दिपेन्द्र पुन सिजलले त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा र उपाध्यक्ष लेखमणी डाँगीले काठमाडौँको एक होटलमा संघाईसँग भेटेर दुई करोड मागेको दाबी गरेका थिए । त्यसपछि जनआस्थाले यसबारे बुझ्न खोज्दा बाँठा र डाँगीले कपोकल्पित आरोप लगाएको जिकिर गर्दै संघाईसँग भेट नै नभएको बताएका थिए ।
एमाले गाउँपालिका र जिल्ला कमिटीले अलग–अलग विज्ञप्ति निकालेर उनीहरुको बचाउसमेत गरेको थियो । तर, यस घटनाका केन्द्रीय पात्र संघाईले बाँठा र डाँगीले पैसा मागेको तर आफूले नदिएको बताए । जनआस्थाले उतिबेलै यसबारे विस्तृत बुझ्न खोजेको थियो, तर उनी नयाँ दिल्ली गएका कारण सम्पर्क हुन सकेको थिएन । हालै नेपाल फर्किएका संघाईले यसबारे प्रतिक्रिया दिँदै आफ्नो व्यवसायमाथि त्यहाँ (त्रिवेणी गाउँपालिका) का जनप्रतिनिधिहरुले राजनीतिकरण गरिरहेको गुनासो गरे ।
‘उनीहरु (बाँठा र डाँगी) भेट्न आएका हुन्, पैसा पनि मागेकै हुन्, तर मैले दिइनँ’, उनले भने, ‘त्यहाँ धेरै राजनीतिकरण भइरहेको छ, मलाई धेरै दुख दिइसके ।’ पैसा नदिएपछि उनीहरुले चुनढुंगा उत्खननको लागि गाडी, डोजर, ढुवानीलगायतका काम आफ्नो मान्छेलाई दिन प्रस्ताव गरेको पनि उनले स्पष्ट पारे ।
‘त्यहाँ उनीहरुको मान्छे रहेछ एकजना एकराज भन्ने..पूरै नैतिकहीन, चरित्रहीन ! त्यस्तालाई मैले काम किन दिनु ? मैले दिइनँ, त्यसपछि उनीहरुलाई मेरो व्यवसायलाई टार्गेट बनाएका छन्’, संघाईले थपे ।
आरोपित बाठा एमाले र डाँगी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् भने आरोप लगाउने पुन माओवादीका हुन् ।
याे पनि....
मारवाडीसँग दुई करोड माग्ने जनप्रतिनिधिको बचाउमा एमाले
चुनाव खर्च उठाउन मारवाडीलाई मुर्गा
टिप्पणीहरू