भ्रमण मैत्रीपूर्ण,माननीयहरुको नियत अर्थपूर्ण
प्रतिनिधि सभाका दुई जना माननीयको विदेश यात्राबारे अनेकौं आशंका जन्मिएका छन् । ‘होली वाइन’ को नामले परिचित एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र काँग्रेस सांसद तथा व्यापारी विनोद चौधरीले हरियो र रातो रङ्गका राहदानी निजी काममा दुरुपयोग गरेको पाइएपछि प्रश्न उठ्न थालेको हो ।
सँधैजसो विदेशतिरै कुदिरहने चौधरी र ढकाल मुश्किलले प्रतिनिधि सभाका नियमित बैठकमा सहभागी हुने गर्दछन् । चौधरी नाफा नोक्सान निकालेर अर्थ समिति र अर्थसँग सम्बन्धित छलफलसम्म भ्याउने गरी काठमाडौंमा अडिने गरेका छन् भने ढकाल संसद र सांसदको आवरणमा कोरियाली इसाइ धर्मको प्रचारमा दौडिरहेका हुन्छन् । संसद अधिवेशन जारी रहेकै बखतसमेत ती सांसदहरु विदेश जाँदा संसद सचिवालयलाई जानकारी दिने गरेको पाइन्न । ढकालले गत साता मात्रै पनि माल्दिभ्स पुगेर त्यहाँका सभामुख अब्दुल रहिम अब्दुल्लासँग भेटवार्ता गरेको अवस्था छ ।
मैत्रीपूर्ण भ्रमणमा माले पुगेको भनिएका उनले सभामुख देवराज घिमिरेको तर्फबाट उताका सभामुख अब्दुललाई शुभकामना दिँदै सार्क मुलुकका सभामुख र सांसदहरु बीच आदानप्रदान बढाउनुपर्ने धारणा राखेको दाबी गरिएको छ । दुई मुलुकबीच सन् १९८० मा कूटनैतिक सम्बन्ध स्थापना भएको हो ।
तर, ढकाल र ‘साहु’ चौधरीको एकपछि अर्को विदेश यात्राको बारेमा प्रायःआधिकारिक जानकारी नहुने संसद सचिवालय स्रोतले बतायो । माल्दिभ्स भ्रमणकै कुरो गर्ने हो भने यसको उद्देश्य,निमन्त्रणाबारे आफूहरु अनभिज्ञ रहेको सचिवालयका कर्मचारीहरुले बताए ।
टिप्पणीहरू