फेसबुकमा लेखेका कुराले वडाध्यक्षलाई फसाद
सामाजिक सञ्जालमा जथाभावी लेखेका रोल्पाका एक जनप्रतिनिधिलाई कार्यपालिका बैठकमा प्रवेश निषेध गरिएको छ ।
रुन्टीगढी गाउँपालिका- ५ का वडाध्यक्ष गोविन्दबहादुर डाँगीलाई कारवाहीस्वरूप दुईवटा कार्यपालिका बैठकमा रोक लगाइएको हो । उनले आफ्नो फेसबुकमा ‘सुवर्ण अवसर पार्टी प्रवेश तथा पार्टीमा फर्किएकाहरुका लागि सूचना । हामी एक लाखसम्मका योजना गोजीबाट, अल्ली ठूला डिपीआर रातमै गर्छौं । पार्टी प्रवेश गर मौकाको फाइदा उठाऊ, जनहितमा जारी सन्देश’ भनि स्ट्याट्स लेखेका थिए ।
त्यसपछि गाउँपालिकाले गत माघ २७ गते स्पष्टीकरण सोधेको थियो । ‘स्ट्याट्समा भनिएअनुसारको विषय के–कस्तो प्रकृतिको हो ? तपाईंजस्तो जिम्मेवार जनप्रतिनिधिले गलत सूचना सम्प्रेषण गर्न मिल्छ ? सम्प्रेषित सूचनाअनुसार के कति मानिस प्रवेश गराउनुभयो ? के कति योजना राख्नुभयो ? के कति डिपीआर गर्नुभयो वा गर्दै हुनुहुन्छ ? उल्लेखित क्रियाकलाप निर्वाचित जनप्रतिनिधिको आचारसंहिताविपरीत गतिविधि हो वा होइन् ? उक्त विषय खुलाई ३ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहोला ?’ भनिएको थियो ।
तर, वडाध्यक्ष डाँगीले स्पष्टीकरण बुझाएनन् । गाउँपालिकाले मागेको प्रष्टीकरणको जवाफ नदिएपछि उनलाई दुईवटा कार्यपालिका बैठकमा सहभागी नगराउने निर्णय भएको हो ।
गत फागुन ८ गतेको पत्रमा भनिएको छ,‘स्पष्टीकरण सम्बन्धमा लेखिएको पत्रको कुनैपनि जवाफ तथा स्पष्टीकरण नआएकोले उक्त विषयमा तपाईंले लेख्नुभएको फेसबुक स्ट्याट्सको धारणा र प्रकृति के–कस्तो हो ? तत्काल सो विषयको लिखित स्पष्टीकरण गराउनुहुन जानकारी गराउँदै तोकिएको समयमा स्पष्टीकरण नदिएकोले तपाईंलाई आगामी दुई वटा कार्यपालिका बैठकमा प्रवेश रोक लगाइएको व्यहोरा जानकारी गराइन्छ ।’
वडाध्यक्ष डाँगीले गाउँपालिकालाई स्पष्टीकरण नदिने बताए । गाउँपालिकामा भइरहेको अवैधानिक गतिविधिको आफूले व्यङ्गात्मक टिप्पणी गरेको उनको भनाइ छ ।
‘गाउँपालिकामा कार्यकर्ता प्रवेश गराउने र बजेट दिने काम भइरहेको छ । मैले सो गैरकानुनी कामको व्यङ्गात्मक टिप्पणी गरेको हुँ । त्यसैले ममाथि पूर्वाग्रह साँधियो', जनआस्थासँग उनले भने, 'त्यसरी लेख्नु आचारसंहिताविपरीत हुन्छ कि हुँदैन् ? मलाई थाहा छैन् । तर, मैले गाउँपालिकामा भइरहेको गैरकानुनी कार्य बाहिर ल्याइदिएको हुँ ।’
जनताबाट चुनिएर गएको जनप्रतिनिधिलाई गाउँपालिकाले कार्यपालिकाको बैठकमा रोक लगाउन नमिल्ने उनी बताउँछन् ।यता, गाउँपालिका अध्यक्ष जनक पुनले भने स्ट्याट्समा त्यस्तो लेखेर आचारसंहिता उल्लङ्घन गरेको बताए । चित्त नबुझेको विषयमा गाउँपालिकामा आएर छलफल गर्नुको साटो सामाजिक सञ्जालमा लेखेर उनले आचारसंहिता तोडेकाले कार्यपालिका बैठकमा निषेध गरिएको उनको जिकिर छ ।
गाउँपालिका अध्यक्ष पुन नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने वडाध्यक्ष डाँगीले एमालेबाट चुनाव जितेका हुन् ।


टिप्पणीहरू