६ बुँदे व्याख्यात्मक टिप्पणी गर्दै बालेनद्वारा प्रधानमन्त्रीसँग नझुक्ने प्रण

६ बुँदे व्याख्यात्मक टिप्पणी गर्दै बालेनद्वारा प्रधानमन्त्रीसँग नझुक्ने प्रण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै हालतमा नझुक्ने बताएका छन् । 

संघीय सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएको सम्बन्धी विवादमा उनको यस्तो प्रतिक्रिया आएको हो । प्रशासकीय अधिकृतबारे केही दिनअघि सामाजिक सञ्जालबाट चर्को आक्रोश पोखेका उनले सरकारको तर्फबाट भ्रम छरिएको भन्दै ६ बुँदामा प्रष्टीकरणसमेत दिएका छन् । 

आज साँझ उनले फेसबुकमा लेखेका छन्, 'भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ ।' त्यसमा उनले ६ वटा उदाहरण प्रस्तुत गरेका छन् । 

भ्यू टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको भन्ने भ्रम फैलाइएको भन्दै उनको पहिलो असन्तुष्टि छ । महानगरमा कार्यकारी टिक्दैन भनेर मिथ्या प्रचार गरिएको दोस्रो जिकिर गरेका बालेनले कार्यकारी जान मान्दैनन् भन्ने लज्जास्पद, लाचार र गैरजिम्मेवार तर्क गरेको बताएका छन् । सरकारको नेतृत्व गरिरहेको पार्टी एमाले महासचिव शंकर पोखरेलले त्यस्तो टिप्पणी गरेका थिए । 
 
बालेनले आफू प्रधानमन्त्री ओलीको शत्रु नभई विकासको साझेदार भएको पनि स्पष्ट पारेका छन् । ‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईंका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईंकै कार्यकालमा भएका हुन् भनिदिउँला', उनले लेखेका छन्, ‘तर, त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईंकै हो ।’

एमालेका कार्यकर्तालाई भ्रष्टको संज्ञा दिँदै उनले जतिसुकै भ्रम फैल्याए पनि नझुक्ने अडान राखेका छन् । भन्छन्, 'जति भ्रम फैलाए पनि, हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ ।'

महानगरलाई जतिसुकै नाकाबन्दी लगाए पनि नियतमा फरक नपर्ने जनाउँदै थपेका छन्, ‘अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठूलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो ।’

 

टिप्पणीहरू