एघार हजार वकिल एकै दिन तात्दै

एघार हजार वकिल एकै दिन तात्दै

कानुन व्यवसायीको छाता संस्था नेपाल बार एशोसिएसनको चुनावी रन्को शुरु भएको छ । चैत २१ गते नेपाल बारको निर्वाचन आउन एक महिना बाँकी रहँदा अध्यक्षका आकांक्षीहरू पनि तात्न थालेका छन् । २५ सदस्यीय कार्यसमितिका लागि एमाले–माओवादी गठवन्धन गर्ने सहमति भइसकेको छ । यता कांग्रेसनिकट डिएलए र एकीकृत समाजवादीनिकट एपिएलएबीच गठवन्धनका लागि छलफल जारी छ ।

तीन वर्षका लागि चुनिने कार्यसमिति छान्न ११ हजारभन्दा बढी मतदाता कानुन व्यवसायी सक्रिय हुँदै छन् । कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष, सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य हुनेछन् ।

एमाले–माओवादी निकट प्रगतिशील खेमाबाट बार अध्यक्षका लागि पूर्वमहासचिव रमणकुमार श्रेष्ठ, पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, ईश्वरी भट्टराई र महेश नेपालले बलियो दाबी पेश गरेको स्रोतले जनाएको छ । ‘प्रधानमन्त्री केपी ओलीले रमण श्रेष्ठलाई विगत निर्वाचनमै नरुचाएको अवस्था हो । पार्टी एउटै हुँदा पनि माओवादीबाटै विकल्प ल्याउन भनेपछि चण्डेश्वरको नाम आएको थियो । अहिले एमालेले अध्यक्ष लिएर माओवादीलाई महासचिव र उपाध्यक्षमा सहमत गराउने प्रयास भइरहेको र यो गठबन्धनमा रास्वपा पनि मिसिने संभावना छ ।

यता, कांग्रेसनिकट डिएलएबाट बार अध्यक्ष छान्न उक्त संस्थाका अध्यक्ष सीताराम केसीले आफ्नै संयोजकत्वमा १२ सदस्यीय समिति बनाएको एक केन्द्रीय सदस्यले जानकारी दिए । अध्यक्षका लागि शम्भु थापा नेतृत्वको बारमा महासचिव रहेका वरिष्ठ अधिवक्ता माधव बाँस्कोटा, पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, सर्वोच्च बारका पूर्वअध्यक्ष पूर्णमान शाक्य, बारका पूर्व महासचिव विजयप्रसाद मिश्र, डिएलएका पूर्व अध्यक्षद्वय यदुनाथ खनाल र योगेन्द्रबहादुर अधिकारीलगायतको दाबी रहेको एक केन्द्रीय सदस्यले जानकारी गराए । यी आकांक्षीमध्ये डिएलए अध्यक्ष केसीले वरिष्ठ अधिवक्ता खनाललाई टिकट दिने विषयमा आफै पहल गरेको बताइएको छ । ती केन्द्रीय सदस्य भन्छन्, ‘धादिङका केसी र तनहुँका खनाल दुवै राष्ट्रपति रामचन्द्र पौडेलनिकट र अहिले नेता शेखर कोइरालानिकट रहेका कारण पनि बेजोडको ‘केमिष्ट्री’ छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल बारमा एमालेसँग मिलेर जान निर्देशन दिए पनि त्यो सम्भावना टरिसकेको छ । यी दुई ठूला संगठन मिलेको अवस्थामा भने ‘भिटो’ लगाएर भए पनि खम्म खाती उठ्ने निश्चित जस्तै रहेको उनैले बताए । यसअघि सम्पन्न सर्वोच्च बारको निर्वाचनमा देउवाले कांग्रेस–एमाले मिलेर जान दिएको सुझाव डिएलए अध्यक्षले अस्वीकार गरेका थिए ।

यसपल्टको निर्वाचनमा पनि डिएलएले एसपिएलएलाई उपाध्यक्षसहित केही पदाधिकारी र सदस्य छाडेर तालमेल गर्ने चरणमा रहेको जनाइएको छ । गत माघ २७ गते सम्पन्न बार काउन्सिल निर्वाचनमा सबैभन्दा धेरै मतदाता रहेको बागमती प्रदेशबाट कांग्रेसभित्रै अन्तर्घात हुँदा एमाले र माओवादी मोर्चाबन्दीका पिपिएलए निकट वरिष्ठ अधिवक्ता रवि खनालले जित निकालेका थिए ।

टिप्पणीहरू