गद्दीमा फर्किने रहर गरेका पूर्व राजालाई सांसदको यस्तो सल्लाह
पूर्वराजा ज्ञानेन्द्र शाहको हालैको अभिव्यक्तिले सडक र सामाजिक सञ्जाल गर्माइरहेका बेला संसदमा पनि यसबारे कुरा उठेको छ ।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देस जारी गर्दै पूर्वराजाले गद्दी त्याग्ने आफ्नो निर्णयलाई कमजोरी नठान्न दलहरुलाई खुला चुनौती दिएका थिए । मुलुक गम्भीर संकटमा रहको जनाउँदै उनले आफू सत्ता सम्हाल्न तयार रहेको आसयमा कडा टिप्पणी गरेका थिए ।
पूर्वराजाको अभिव्यक्तिको राजावादीहरुले खुलेर स्वागत गर्दा राजनीतिक दलका नेताहरुले भने विरोध जनाएको अवस्था छ । यसबीच सत्तारुढ नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले ज्ञानेन्द्रलाई चुनाव लडेर संसदमा आउन चुनौती दिएकी छन् ।
‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले व्यक्त गरेको बिचारलाई लिएर समाज तरंगित त भयो नै, पक्ष र विपक्षमा मत छताछुल्ल भए', आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले भनिन्, ‘अझ यो व्यवस्था बेठिक हो भनेर ठूलो ठूलो श्वरले डंका पिटेको समेत देख्न पाइयो ।'
उनले सत्तामा फर्किने रहर भए चुनाव लडेर आउन सुझाव दिईन् । ‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्’ सांसद न्यौपानेले भनिन्, 'पूर्वराजा र समर्थकहरुलाई सुझाव छ- कहिल्यै पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाई त्यागीदिनुस् ।'
टिप्पणीहरू