शेखर कोइरालाले एमालेसँग संघर्ष गर्ने, मन्त्रीलाई सहकार्य गर्न सुझाव
नेपाली काँग्रेसको संस्थापन इतर खेमाका नेता डा. शेखर कोईरालाले काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले नेकपा एमालेसँग सहकार्य गरेपनि बाँकी नेताले संघर्ष गर्नुपर्ने बताएका छन् ।
काँग्रस सत्तापक्ष भएपनि सरकारमा नरहेको केही दिनअघिको अभिव्यक्ति विवादमा परेपछि उनको यस्तो प्रतिक्रिया आएको हो । कोइरालाको उक्त अभिव्यक्तिप्रति एमाले नेताहरुले असन्तुष्टि जनाएका थिए भने कतिपयले दुई दलबीच खटपट शुरु भएको अनुमान गरेका थिए ।
तर, नेता कोईरालाले आफ्नो अभिव्यक्तिको आशय त्यस्तो नभएको बताएका छन् । एमाले र कांग्रेस एक-अर्काका मुख्य प्रतिस्पर्धी शक्ति भएकाले सहकार्य सँगै संघर्ष पनि गर्नुपर्ने उनको प्रष्टोक्ति छ । आगामी निर्वाचनमा एमाले नै काँग्रेसको प्रतिष्पर्धी हुने भएकाले बाहिर रहेका सांसदहरुले सरकारलाई गलत काम गर्न नदिन खबरदारी गर्नुपर्ने आफ्नो अभिव्यक्तिको सार रहेको उनले प्रष्ट पारे ।
त्यसकारण सरकारलाई खबरदारी गर्नु आफूहरुको दायित्व हुने उनले बताए । 'हाम्रो भोलिको प्रतिष्पर्धी एमाले नै हुन्छ । जो साथीहरु मन्त्रिमण्डलमा जानुभएको छ, ति साथीहरुले एमालेसँग सहकार्य गर । हामी जो बाहिर छौँ, हामी प्रतिष्पर्धी एमाले नै हुन्छ, भोलिको निर्वाचनमा पनि । हामीले खबरदारी गरिरहनुपर्छ यो सरकारलाई ता की सरकारले राम्रो काम मात्रै गरोस्, गलत काम नगरोस् भन्ने हो’, उनले भने ।
नेता कोईरालाले ०८२ को मंसिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्नेमा पनि जोड दिएका छन् । तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अधिकांश कार्यकर्ताको चाहना रहेको उल्लेख गर्दै उनले नत्र काँग्रेस, लोकतन्त्र र देश नै कमजोर हुने दाबी गरे ।
‘नेपाली काँग्रेसको महाधिवेशन ०८२ मंसिरभित्र हुनुपर्छ भन्ने हामी नेपाली काँग्रेसका धेरै कार्यकर्ताहरुको इच्छा छ । ४ वर्षभित्र महाधिवशेन गर्नुपर्छ भन्ने हाम्रो विधानमा छ । तर, केही कारणवश रोकियो भने एक वर्ष नेपाली काँग्रेसको विधानले रोक्न सक्नेछ', कोइरालाले भने, 'तर कुनैपनि हालतमा ०८४ को निर्वाचनपछि महाधिवेशन गर्ने केही साथीहरुको तर्क छ, त्यसले नेपाली काँग्रेसलाई कमजोर बनाउँछ, लोकतन्त्र र देशलाई कमजोर बनाउँछ ।'
टिप्पणीहरू