अपारदर्शी प्रवृत्ति, सूचना लुकाउँदै भर्ती
गुल्मीको सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकाले अपारदर्शी तवरले कर्मचारी भर्ना गरेपछि विवाद चर्केको छ । आफ्ना मान्छे घुसाउन सूचना लुकाउँदै कर्मचारी नियुक्ति गरिएको आरोप लगाउँदै स्थानीयले नगरपालिकाको चर्को आलोचना गरेका छन् । गत माघ १० गते पाँचौं तहको कम्प्युटर अपरेटर पदका लागि सूचना गरेर कर्मकाण्डीय पाराले कर्मचारी भर्ना गरिएको बताइन्छ ।
‘तर, त्यो सूचना नगरपालिकाको वेभसाइटमा हालिएन । भित्रभित्रै कर्मचारी नियुक्तिको चलखेल भयो,’ पालिकामा कार्यरत एकजना कर्मचारीले भने । लुकीछिपी कम्प्युटर अपरेटर नियुक्त गरेको थाहा पाएपछि स्थानीय यम विश्वकर्मा नगरपालिका पुगे ।सूचना वेवसाइटमा नहाल्नुको कारण माग्दा आफूले पहिले सर्भर बिग्रिएको जवाफ पाएको बताए । त्यसपछि नगरप्रमुखको सचिवालय र अन्य कर्मचारीहरु पनि पन्छिएको उनको भनाइ छ ।
भन्छन्,‘कम्प्युटर अपरेटर पदमा एकजना उम्मेदवार लिखित, प्रयोगात्मक र अन्तरवार्तामा उतीर्ण भएको जनाउँदै नियुक्तिको निम्ति बोलाएपछि म झसङ्ग भए । एकाएक नतिजा सार्वजनिकपछि दरखास्तको सूचना खोज्दै जाँदा नगरपालिकाले पुस १७ गते सब–इन्जिनियर, असिष्टेण्ट सब–इन्जिनियर र नगर प्रहरीका लागि आवेदन आह्वान गरेको भेटेँ । तर कम्प्युटर अपरेटरको विज्ञापन नै थिएन । नगरपालिका पुगेर मैले त्यसबारे सोधपुछ गरेँ । पहिले त सर्भर ह्याङ्ग भएको जवाफ पाएँ ।’
श्वकर्मा आफैंपनि कम्प्युटरका विद्यार्थी हुन् । उनका अनुसार नगरपालिकाबाट घर फर्किदाँ सूचना वेवसाइटमा अपलोड भइसकेको थियो । पुरानै मितिमा सूचना अपलोड गरिएपछि उनी वास्तविक मिति खोज्न थाले । सन् २०२५ फेब्रुअरी १० को ग्रीनवीच मीन टाइम (अन्तर्राष्ट्रिय समय) ६ बजेर ५८ मीनेटमा सूचना अपलोड भएको पाइएको हो ।

त्यो भनेको गत माघ २८ गते दिँउसो १२ बजेर ४३ मीनेट हो । गत सोमबार दिउँसो मात्र अपलोड गरिएको सूचना नगरपालिकाको वेवसाइटमा भने पुरानो मिति सन् २०२५ जनवरी २० मा प्रकाशित गरेको देखाइएको छ । यसले नियुक्ति प्रक्रियामै शंका उब्जिएको विश्वकर्मा बताउँछन् ।
‘दरखास्त आह्वान नै नभएको पदमा नियुक्तिका लागि बोलाइएपछि मात्र विज्ञापन गरिएको छ, त्योपनि पुरानो मितिमा । मैले सोधखोज गरेको केही बेरमै पुरानो मिति राखेर सूचना प्रकाशित भयो । अपलोड भएको वास्तविक मिति खोज्दा अर्कै देखिन्छ । यसले नियुक्ति प्रक्रियामै शंका उब्जाएको छ’, उनले भने ।
नगरपालिकाको ‘करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७५’ को दफा ३ (१) मा करारमा कर्मचारी नियुक्त गर्दा १५ दिनको सूचना कार्यालयको सूचनापाटी, वेवसाइट वा अन्य कुनै सार्वजनिक सञ्चार माध्यममा प्रकाशन गर्नुपर्ने उल्लेख छ । तर, नगरपालिकाले सार्वजनिक सूचना लुकाएर कानुनको ठाडै बर्खिलाप गरेको देखिन आएको छ ।
कम्प्युटर अपरेटर पदमा वडा नम्बर–३ का महेश पन्थी नियुक्त भइसकेका छन् । रोचक प्रसङ्ग के भने, नगरप्रमुख पनि पन्थी नै हुन् । नगरप्रमुख खिलध्वज पन्थीले आफन्तलाई नियुक्त गर्न विज्ञापन लुकाएको हुनसक्ने स्थानीयको ठम्याई छ ।
यता, नगरपालिकाले भने त्यो विषय ‘सामान्य’ भएको प्रतिक्रिया दिएको छ । अन्य पालिकामा मेयरको सचिवालयमा सूचना नै प्रकाशित नगरी कर्मचारी नियुक्ति गर्ने प्रचलन भएको सूचना प्रविधि अधिकृत सुरेश खनालले बताए । जनआस्थासँगको कुराकानीमा उनले भने, ‘हामीले नगरप्रमुखको सचिवालयमा खासमा सहयोगी राख्न खोजेका हौं । मेयरले आफ्नो इच्छाअनुसार सचिवालयमा कर्मचारी राख्न पाउनुहुन्छ । कम्प्युटर जानेको व्यक्ति भयो भने वर्कलोड कम हुन्छ भन्ने लागेर कम्प्युटर अपरेटरका लागि दरखास्त आह्वान गर्यौं । कर्मचारी नियुक्त भएर काम गर्न थालिसक्नुभएको छ । ठाडै कर्मचारी राख्नुभन्दा नियमअनुसार जाऔं भन्ने हाम्रो धारणा हो । कर्मचारी नियुक्ति प्रक्रियागत रुपमा भएको छ ।’
उनले राम्रो गर्न खोज्दाखोज्दै पनि नराम्रो आक्षेप लगाइएको भन्दै गुनासो पोखे । कर्मचारी नियुक्तिमा आफूहरुको नियत ‘असल’ रहेको उनको दाबी छ ।
टिप्पणीहरू