भारतबाट फर्केका विद्यार्थीको संख्या चार सय नाघ्यो
भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा उत्पन्न असहज परिस्थितिपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु धमाधम फर्केका छन् । नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युपछि विश्वविद्यालय प्रशासन र सुरक्षाकर्मीको अभद्र व्यवहार तथा असुरक्षा महशुसपछि घर फर्केका विद्यार्थीको संख्या चार सयबढी पुगेको छ ।
प्रकृतिको शव अस्ति राति भैरहवास्थित घरमा ल्याएर श्रद्धाञ्जलीपछि अन्त्येष्टि गरिसकिएको छ । उनको शव विश्वविद्यालयको होस्टलमा शंकास्पद तरिकाले फेला परेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु विरोधमा उत्रेका थिए ।
यसबीच विश्वविद्यालयले उक्त घटनामा आफ्नो गल्ती स्वीकार गरेको छ । हिजोसम्म झण्डै एक सय जना नेपाली विद्यार्थी घर फर्केका छन् । तीमध्ये ३४२ जना छात्र र ६७ जना छात्रा रहेको बताइन्छ ।
परिस्थिति अनुकूल नभएको बताउँदै हिजो बेलुकीसम्म चार सय नौ जना नेपाल आइपुगेका हुन् । प्राप्त विवरणअनुसार मोरंगको रानी नाकाबाट ८३ जना, झापाको काकडभिटटबाट १९ जना, सप्तरीको कुुनौली नाकाबाट तीन जना घर फर्केका हुन् । धनुषाको जटहीबाट २९, महोत्तरीको भिट्टामोड नाकाबाट ५१, सर्लाहीको मलंगवाबाट पाँच, पर्साको वीरगञ्ज नाकाबाट १५९ जना हिजो अपरान्ह ३ बजेसम्म नेपाल आइपुगेका छन् ।
उडिसाबाट नेपाल आएका विद्यार्थीमध्ये सिरहाको माडर नाका हुँदै १५, रौतहटको गौर नाकाबाट १३, रुपन्देहीको सुनौली नाकाबाट ३१ र पूर्वी नवलपरासीको त्रिवेणी नाकाबाट एक जना आएका हुन् ।
टिप्पणीहरू