प्रकृति मृत्यु प्रकरणमा नेपालबाट भारतलाई पत्र
भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्स्टिच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा प्रकृति लम्साल मृत फेला परेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ ।
घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा नेपाली विद्यार्थीमाथि कुटपिट तथा दुर्व्यवहार भएकोप्रति गम्भीर चासो देखाउँदै आयोगले पीडितलाई न्याय दिन र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुको पूर्ण सुरक्षाको प्रत्याभूति गर्न राष्ट्रिय मानव अधिकार आयोग भारतको ध्यानाकर्षण गराएको हो ।
यसबारे अवगत गराउँदै हिजो पत्र पठाएको आयोगले जानकारी गराएको छ । त्यसैगरी, भारतस्थित नेपाली दूतावास र अन्य माध्यमबाट घटना र विद्यार्थीको अवस्थाबारे जानकारी लिइरहेको जनाएको छ ।
‘पत्रमा शंकास्पद मृत्युको घटनाको अनुसन्धान गरी पीडितलाई न्याय प्रदान गर्न, विश्वविद्यालयमा कुटपिट भएका र दुर्व्यवहारमा परेका विद्यार्थीहरुलाई शीघ्र न्याय प्रदान गर्न, अध्ययनरत नेपाली विद्यार्थीहरुको पूर्ण सुरक्षाको प्रत्याभूति गर्दै भयरहित वातावरणमा अध्ययन गर्न पाउने अवस्था सुनिश्चित गर्न, घटनामा संलग्न विश्वविद्यालयका अधिकारीहरु तथा व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई उत्तरदायी बनाउनको लागि आयोगले मिति २०८१–११–७ गते पत्राचार गर्दै राष्ट्रिय मानव अधिकार आयोग भारतलाई अनुरोध गरेको छ’,विज्ञप्तिमा उल्लेख छ ।
गत आइतबार अपरान्ह मृत फेला परेकी २० वर्षीया प्रकृतिको शव अन्त्येष्टि गरिएको छ । हिजो राति ९ बजे भैरहवास्थित घर ल्याइएको उनको शवमा हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका हुन् ।
टिप्पणीहरू