ट्रम्पको कुराले नेपालीको शीर गिरेको भन्दै गगन थापामाथि कटाक्ष
पूर्वपञ्चहरुको पार्टी राप्रपाका नेता तथा सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले नेपाललाई दिएको १९ मिलियन डलरको सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिबारे नेपाल सरकारसँग जवाफ मागेका छन्।
अमेरिकाबाट विभिन्न शीर्षकमा आएको सहायता रकमको हिसाव देखाउन उनले सरकारलाई भनेका हुन् । आज प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै ज्ञानबहादुरले उक्त रकम ल्याएर नेपालमा भ्रष्टाचार गरेकै कारण ट्रम्पले फ्रड भनेको जिकिर समेत गरे ।
नेपालको संघीयता सवलीकरण र जैविक विविधता संरक्षणका लागि अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोगलाई ‘ठगी’ को संज्ञा दिँदै ट्रम्पले अब उप्रान्त रकम नदिने घोषणा गरेका थिए । दुई फरक कार्यक्रमका लागि विनियोजित अर्बौं रकम रोकिएको र अमेरिकी राष्ट्रपतिले ठगी भनेको यो विषयले नेपालमा तरंग पैदा गरेको छ । विभिन्न पार्टीका नेता, सांसद, स्वतन्त्र अभियन्ताहरुले आपत्ति जनाएका छन् ।
राप्रपा नेता शाहीले भने संघीयताको नाममा आएको रकम अमेरिकी राष्ट्रपतिले भ्रष्टाचार भनेकाले छानविन गर्नुपर्नेमा जोड दिए । नेपालले अमेरिकाबाट लिएको सहयोगलाई अमेरिकी राष्ट्रपतिले नै भ्रष्टाचार भनेपछि त्यहाँ बस्ने नेपालीको शिर गिरेको बताउँदै उनले भ्रष्ट नेताहरुकै कारण यस्तो भएको जिकिर गरे । नेपाल राष्ट्र बैंकको अनुमति बिना विदेशी रकम भित्र्याउन नपाउने भन्दै शाहीले गभर्नरलाई समितिमा बोलाएर रिपोर्ट माग्नुपर्नेमा जोड दिए ।
‘अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भ्रष्टको देश भनिसक्नुभयो । किन भनियो भने संघीयताको शीर्षकमा आउने २० मिलियन अमेरिकी डलर आजको विनिमयम दरअनुसार २ अर्ब ७६ अर्ब ६४ लाख रुपैयाँ र नेपालमा जैविक विविधताका संरक्षणअन्तर्गत दिन लागिएको १९ मिलियन अमेरिकी डलर आजको विनिमयम दरअनुसार २ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ बराबरको सहयोग यो चाहीँ भष्ट्राचारीले लिए, यो फ्रड हो भन्दिनुभयो', उनले भने ।
एमसीसी पास गर्न मरिहत्ते गर्नेहरुप्रति व्यङ्ग्य कसेका शाहीले अमेरिकाले चिलिम देखाएपछि उनीहरु देशै छोडेर भाग्नुपर्ने अवस्थामा पुग्न लागेको भन्दै कटाक्ष गरे । एमसीसीमा नेपालको पनि पैसा परेको र त्यो खेर जाने अवस्था आएको उनको भनाई छ ।
'एउटा गीत थियो अमेरिका जाऔँ चीन जाऔँ ६० अर्ब मागौँ, भारत जाऔँ ५० अर्ब मागौँ', कांग्रेस महामन्त्री गगन थापा लक्षित शाहीको टिप्पणी छ, 'अमेरिकाले चिलिम देखाइदियो अब देश छोडेर भागौँ भन्ने भा'छ । एमसीसी भनेर बहुत कराउनुभएको थियो त्यतिखेर ।'
टिप्पणीहरू