कालोमोसोसहित पिटपाट गरिएकालाई फूलमालाले स्वागत

कालोमोसोसहित पिटपाट गरिएकालाई फूलमालाले स्वागत
सुन्नुहोस्

ताप्लेजुङको पाथीभरामा निमार्णाधीन केबलकार परियोजनाको पक्षमा बोल्दै हिँडेको भन्दै निर्घात कुटिएका स्थानीयलाई आज फूलमालासहित सम्मान गरिएको छ । 

आइतबार पहिचानवादी समूहले केबलकारको पक्षमा उभिएका पदम चेन्जी मावोलाई धरानमा कालोमोसो दलेर कुटपिट गरिएको थियो । आज केवलकार निर्माण पक्षधर समूहले फुङलिङ बजारमा आजोजना गरेको कार्यक्रममा उनलाई माला लगाएर स्वागत तथा सम्मान गरिएको हो ।  

उक्त सभाअघि फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनसहित विभिन्न जनप्रतिनिधिहरको अगुवाईमा र्यालीसमेत निकालिएको थियो । र्यालीमा उनीहरुले ‘स्थानीय जनता के भन्छ, केबलकार ले भन्छ’ को नारा घन्काएका थिए । 

उता मावोलाई कालोमोसो दलेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । धरानको अमरहाट अस्थायी प्रहरी चौकीले आज बिहान सिर्जना बेघालाई नियन्त्रणमा लिएको हो । उनी राष्ट्रिय जनमुक्ति पार्टीमा आबद्ध रहेको बताइन्छ ।

धरानबाट ताप्लेजुङ जाँदै गरेको बोलेरो गाडीबाट उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले बताएका छन् । उनका अनुसार कालोमोसो दल्ने अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको छ ।

टिप्पणीहरू