वडाध्यक्षले शिक्षा अधिकृतलाई भकुरेपछि पालिकाको सेवा ठप्प

वडाध्यक्षले शिक्षा अधिकृतलाई भकुरेपछि पालिकाको सेवा ठप्प
सुन्नुहोस्

रुपन्देहीमा एक जनप्रतिनिधिले शिक्षा अधिकृतलाई कुटेपछि तनाव उत्पन्न भएको छ । रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष करम हुसेन खानले आज दिउँसो कार्यपालिकाको बैठकमै शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेका हुन् ।  

घटनालगत्तै गाउँपालिकाका कर्मचारीहरु सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । उनीहरुले शिक्षा अधिकृतमाथि हातपात गर्ने वडाध्यक्षलाई कारबाही अगाडि नबढाएसम्म सेवा अवरुद्धको चेतावनी दिएका हुन् ।

वडाध्यक्ष खानले यसअघि पनि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्ने तथा गालीगलौज गरेको कर्मचारीहरुको आरोप छ । कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निज वडाअध्यक्ष करम हुसेन खानले बारम्बार कर्मचारीहरुलाई गालीगलौज गर्ने र शाखामा तालाबन्दी समेत गर्ने गरेको, कर्मचारीमाथि अप्रिय अपशब्द व्यक्त गर्ने र दादागिरी देखाउने कार्य गर्दै आएको अवस्था छ ।’ कार्यालय समयमा कर्मचारीहरुमाथि आक्रमण हुनु अत्यन्तै खेदजनक कार्य भएको उनीहरुको ठहर छ । 

कार्यालयमा काम गर्ने सुरक्षित वातावरण बनाउन आग्रह गर्दै भनेका छन्,  ‘घटनाको दोषीउपर कारबाही गरी गाउँपालिकामा भयरहित र स्वतन्त्र ढंगले काम गर्ने वातावरण नबनेसम्मको लागि यस गाउँपालिकाबाट प्रवाह हुने सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय गर्दछौँ ।’

टिप्पणीहरू