कार्यक्रम सीमसार, खर्च भरमार

कार्यक्रम सीमसार, खर्च भरमार
सुन्नुहोस्

सहयोगको आशमा कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोलाइएका आफ्नै जिल्लाकी मन्त्रीले प्लेन टिकट काट्न दबाब दिएपछि आयोजक पक्ष नै चकित भएको छ । गत माघ २० गते कपिलवस्तुको जगदीशपुर तालमा आयोजित विश्व सिमसार दिवस कार्यक्रमकी प्रमुख अतिति वन तथा वातावरण राज्यमन्त्री रुपा विकले आयोजकहरुलाई नै राजधानी फर्कने प्लेन टिकट काट्न लगाएको रहस्य पछि खुलेको छ ।

डिभिजन वन कार्यालय कपिलवस्तुको सहयोगमा कार्यक्रमको आयोजना जगदीशपुर जलाशय बहुसरोकार मञ्चले गरेको थियो । मञ्चका कार्यवाहक अध्यक्ष राम सवारे यादवले मन्त्रीले आफू, स्वकीय सचिवसहित पिएसओको टिकट काट्न दबाब दिएकोे बताए । ‘मन्त्रालयको आफ्नै कार्यक्रम थियो तर उहाँले टिकट काट्न जर्बजस्ती गर्नुभयो, के गर्ने काट्नै परयो,’ यादवले भने ।

मञ्चका अध्यक्ष तथा नेपाली काँग्रेस कार्यकर्ता ललित गुरुङ्गले राज्यमन्त्री विकलाई कार्यक्रमको निम्तो गरेका थिए । आफ्नै जिल्लाको कार्यक्रम अर्कोतर्फ सम्बन्धित मन्त्रालयसँग जोडिएको सिमसार दिवसमा प्रमुख अतिति बन्ने भएपछि विकले निम्तो सहजै स्वीकारेको मञ्चका पदाधिकारी बताउँछन् । 

तर कार्यक्रममा कुनै सहयोगको प्रतिबद्धता नगरेकी मन्त्री विकले उल्टै फर्कने  बेलामा टिकट काट्न दबाब दिएपछि आयोजकहरु रुष्ट बनेका थिए । ‘मन्त्रीजीले टिकट काट्न भन्नुभयो, मैले सचिव सुन्दर पाण्डेलाई भनेर तीन जनाको टिकट काट्न लगाएँ,’ यादवले भने । मन्त्रीसहित स्वकीय सचिव सन्तोष विक र पिएसओ देवकुमारी तिमिल्सिनाको निम्ति बेलुकी ६ बजेको यति एयरको भैरहवा–काठमाडौंको टिकट काटिएको थियो ।

‘मन्त्री विभागीय कार्यक्रममा जाँदा आतेजाते सेवा सुविधा हुँदाहुँदै किन टिकट काटन लगाउनुभयो हामी आश्चर्यमा छौं,’ यादवले भने । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी राज्यमन्त्री विकलाई लिन २० गते महाराजगञ्ज नगरपालिकाका मेयर तथा कांग्रेस जिल्ला सभापति अब्दुल कलाम चढ्ने ३९१ नम्बरको सरकारी गाडी गएको थियो । तर, काँग्रेसका नगरसचिव नगेन्द्र यादवले आफूले मन्त्रीलाई लिन गएको जनाउँदै इन्धन खर्च माग गरेको बताइन्छ । 

उनले २५ सय रुपैयाँ इन्धन खर्च आयोजकसँग मागेका छन् । संस्थाका सदस्य लालसिंह यादवले नगेन्द्रले मन्त्री विकलाई लिन जाँदाको डिजलको रकम माग गरेको तर भुक्तानी नदिएको बताए । थोरै बजेटमा कार्यक्रम गरिएको र १५ हजार रुपैयाँ मन्त्रीको हवाई टिकटमा खर्च भएपछि हिसाब मिलाउन गाह्रो भएको उनको दुःखेसो छ ।

टिप्पणीहरू