सर्वेन्द्र खनाल र नवराज सिलवालको यो सट्याकसुटुक

सर्वेन्द्र खनाल र नवराज सिलवालको यो सट्याकसुटुक
सुन्नुहोस्

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र डिआइजीबाट आइजिपी हुन नपाएपछि एमालेमा प्रवेश गरी वाम गठबन्धन मार्फत् सांसदको कार्यकाल पास गरेका नवराज सिलवाल प्रहरी सेवामा कहिले सँगसँगै त कहिले अघिपछि भए । सेवाअवधिका कारण २०५८ सालमा उपेन्द्रकान्त अर्यालसँगै एआइजीहरू पनि सेवानिवृत्त हुने भएपछि डिआइजीबाट सोझै आइजिपी हुने दौडमा आफू हुनुपर्ने मागसहित अदालतमा मुद्दा हाल्न गएका सिलवालमाथि कासमू किर्ते गरेको भन्दै शेरबहादुर देउवाको दबाबमा पक्रने तयारी भएपछि एमाले प्रवेश गरेका थिए ।

प्रहरीमा रमेश खरेल, सर्वेन्द्र खनाल र नवराज सिलवाल एकैपटक डिआइजी बढुवा हुनुपर्नेमा मुद्दाका कारण सिलवाल छुटे । यी तीनै कमाण्डर राजनीतिमा हामफाले पनि सिलवालबाहेक अरु सफल भएनन् । सिलवाललाई पनि अध्यक्ष ओलीले काखी च्यापेकाले साइजमा राख्नुपर्‍यो भन्दै ललितपुरको एउटा टोली ईश्वर पोखरेल र शंकर पोखरेललाई गुहार्न पुर्‍यो । 

सिलवाललाई संसद् अवधिभर खास अरु जिम्मेवारी दिइएन । गृहमन्त्री बन्ने भन्दै निकटकालाई प्रभावमा पारिरहेका सिलवाल राज्यमन्त्रीकै लागि समेत तयार हुँदा पनि ओलीले अवसर दिएनन् । यही झोंकमा वरिष्ठ नेता माधव नेपालसँग गुनासो पोख्न भ्याए । नेपाल निकट नेताहरूसँग लगालग भेटेको थाहा पाएपछि ओली झन् टाढिए । यतिसम्म कि पार्टी विभाजनमा लागेकाहरूलाई मन्त्री पक्का बनाइदिने वचन पाउँदा सिलवाल लोभिएका थिए । तर अन्तिममा पत्नीले संकटका बेला साथ दिएका ‘बा’ लाई संकट परेको बेला छाड्दा बैगुनी भइन्छ भनी सम्झाएर रोकेकी थिइन् । 

सिलवालको यो सन्दर्भ अहिले सर्बेन्द्र खनालले एमाले छाडेसँगै फेरि सतहमा आएको हो । विभाजनपछिको एमालेले महाधिवेशन र सबै तहका अधिवेशनमा सर्वसम्मत गरेर सन्देश दिन लाग्दा बागमतीमा उनै सिलवालका कारण निर्वाचन भएको थियो । कृष्ण दाहाललाई अध्यक्षमा उठाएर आफू सचिवमा उठेका उनले आफूलाई मात्रै केन्द्रित गरेर चुनावी क्याम्पेन गरेका कारण झिनो मतले जित्न सके । त्यसपछि पनि उनी चेन अफ कमाण्डभन्दा स्वविवेकी पारामा बोल्छन् हिँड्छन् र लेख्छन्, भन्दै चर्चा हुन थालेको छ । 

ओली प्रधानमन्त्री छँदा आफ्नो पक्षमा संख्या पुर्‍याउन सांसद अपहरणको आरोपसमेत लागेका पूर्वआइजिपी खनाल पछि एमालेमै छिरेर काठमाडौंबाट चुनाव लडे । हारेपछि उपनिर्वाचनमा तनहुँबाट लडे अख्तियारको आयुक्त वा संवैधानिक नियुक्तिको अपेक्षा गरिरहेका थिए । तर अन्तिममा पछिल्लो महिना एमाले परित्याग गरिदिए । माओवादीलाई पहिलो शक्ति बनाउने गरी काम गर्ने सेना, प्रहरीका पूर्वअधिकारीहरू हुन् र उनीहरूलाई ‘ख’ गराउँदै प्रवेश गराउन प्रचण्डले काम थालेपछि खनाल प्रवेश गरिनै सके अनि रमेश खरेल र नवराज सिलवालसँग संवाद भइरहेको सूचना लिक भएको छ । चितुवा कराउनु र बाख्रो हराउनु भनेजस्तै यही बेला सिलवाल पनि छट्पटिएका छन् ।

पटक पटक प्रधानमन्त्री तथा अध्यक्षलाई भेट्न खोज्दा पनि समय पाइएको छैन भनेर गुनासो पोखिरहेका छन् । एक पूर्व अधिकारीका अनुसार हालै सरकारले ल्याएको विधेयक फिर्ता नगरे प्रहरी सेवा तहसनहस हुने भन्दै भित्रभित्रै छलफल चलिरहेको छ । सिलवालले पनि सरकारले ल्याएको विधेयकको विरोधमा धमाधम स्टाटस लेखिरहेका छन् । त्यसो त उनको प्रहरी सेवामा रहँदा सबैभन्दा बढी दुश्मनी भएका शेरबहादुर देउवालाई नै साथै लिएर ओली हिँडिरहेका छन् । अझ हालैको एक सहमतिअनुसार बन्ने सत्तारुढ संयन्त्रमा उनैलाई हटाउने देउवाको सालो भाइ उदयसमशेर राणालाई नेता मानेर यो सरकारले राम्रो काम गरेको छ भन्दै हिँड्नुपर्ने दिन आयो भनी एक निकट विश्वासिलासँग सिलवालको गुनासो थियो । 
 

टिप्पणीहरू