आगो लागेको मन्त्रीको कोठामा संसदीय टोली

संसदीय समितिले खानेपानी मन्त्रालयको आगलागी अनुगमन गरेको छ ।
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगोले जलेर ध्वस्त मन्त्री प्रदीप यादवको कार्यकक्षको स्थलगत निरीक्षण गरेको हो । अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले यस घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारीका काम गर्नुपर्नेमा जोड दिए ।
‘हामी आगलागी भएको निरीक्षण गर्न आएका हौँ । पूर्वाधार विकास समितिका सम्पूर्ण मान्यज्यूहरु टिम नै आउनुभएको छ । यो घटनाले जनको क्षति भएन, धनको क्षति भएको छ। डकुमेण्टहरुमा केही पनि आगो लागेको छैन भनिएको छ', उनले भने, 'यो घटनाले सिंहदरबारभित्रका कार्यालयहरुको वायरिङदेखि लिएर पहिलादेखि नै हाइ अलर्टमा बस्नुपर्ने महसुस समितिले गरेको छ । अब वायरिङदेखि सबैलाई परीक्षण गर्न जरुरी रहेको आवश्यक देखेका छौँ ।’
हिजो बिहान मन्त्रालयको चौथो तलामा आगलागी भएको थियो। आगोले मन्त्रीको मुख्य कार्यकक्षसँगै थप तीन वटा कोठा क्षतिग्रस्त भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको भवनमा लागेको आगोको कारणबारे अनुसन्धान भइरहेको छ । विद्युत सर्ट भएर आगो लागेको बताइए पनि मन्त्रीको कार्यकक्षमात्रै जल्नुलाई ‘रहस्यमय’ ठानिएको छ ।
टिप्पणीहरू