गृहमन्त्रीको राजीनामा माग्दै काँग्रेस कार्यालय घेराउ

अन्तरजातीय बिबाह गरेका दलित युवामाथि अत्याचार गरेको आरोप लागेका गृहमन्त्री रमेश लेखकमाथि कारवाही माग गर्दै अभियन्ताहरुले काँग्रेस केन्द्रीय कार्यालय घेरेका छन् ।
दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा माइतीघर मण्डलादेखि हिंड्दै सानेपा पुगेको टोलीले विरोध प्रदर्शन गरेको हो । ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर', 'जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका उनीहरुले कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका– ४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा– ५ की नेहा रौनियारलाई अन्तरजातीय प्रेमविवाह गरेकै कारण गृहमन्त्री लेखकको संरक्षण र उच्च प्रहरी अधिकारीकै संलग्नतामा ज्यादती गरेको आरोप छ । सञ्चार माध्यममा यो विषय सार्वजनिक भएपछि सरोकारवालाहरुले चर्को विरोध गरिरहेका छन् ।
बुधबार 'दलितका लागि दलित अभियान' ले बुधबार माइतीघर मण्डलामा गृहमन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शनसमेत गरेको थियो । तर, गृहमन्त्री लेखकले भने आरोप अस्वीकार गरेका छन् । यस सम्बन्धमा उनले हिजो संसदमा स्पष्टीकरणसमेत दिएका थिए ।
टिप्पणीहरू