काँग्रेस नेताले अन्तर्वार्तामै गुट्खा चपाएपछि .....
स्वास्थका लागि सुर्तीजन्य पदार्थ (सुर्ती, खैनी, गुट्खा) हानिकारक मानिन्छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन-२०७६ अनुसार सार्वजनिक स्थानमा त्यस्ताे पदार्थ सेवन र विज्ञापन गर्न पाइँदैन । तर, मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसका एक प्रभावशाली नेता भने टेलिभिजन अन्तरवार्तामै गुट्खा चपाउँदै देखिएका छन् ।
सत्ताधारी कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले हालै एक टेलिभिजन कार्यक्रममा गुट्खा खाएर अन्तर्वार्ता दिएका हुन् । जहाँ उनले गुट्खा चपाउँदै पत्रकारसँग कुराकानी गरिरहेको देखिन्छ ।
‘विपीको पुत्र हुनुबाहेक तपाईसँग नेपाली राजनीतिको के योग्यता छ ?’ भन्ने पत्रकारको प्रश्नमा कोइराला भन्छन्, ‘नेपाली राजनीति (गुट्खा चपाउँदै) एक त मलाई राजनीति गर्ने इच्छा चाहिँ थिएन । म आफ्नो प्रोफेसनमा थिएँ । तर (थुक निल्दै) मलाई प्रेसर आउन थाल्यो कि कहाँ तपाई मान्छेको आँखा जाँच गर्नुहुन्छ, (फेरि थुक निल्दै) अब राष्ट्रको आँखा जाँच गर्नुस्।’
नेता कोइरालाले गुट्खा चपाउँदै अन्तर्वार्ता दिएपछि धेरैले आलोचना गरेका छन् । उनीसँग मदिरा र गुट्खा खानेबाहेक अन्य कुनै क्षमता नभएको सुनिल शर्माको भनाई छ । भिडियोको मुन्तिर उनी लेख्छन्, ‘शशांक कोइरालासँग बिहानदेखि दारु र गुट्खा खाने योग्यताबाहेक आशा र भरोसा गर्ने कुनै क्षमता छैन, उहाँ बिनापिँधको लोट्टा हो ।’
कृष्ण तिवारीले ‘उहाँको गोजी पनि छाम्नू, क्वाटर (रक्सी) नभेटे मलाई मार्दिनू’ भन्दै व्यंग गरेका छन् । दुर्गा लम्सालको भनाई पनि उस्तै छ, ‘हुनेवाला अर्को लुपुर्धुङ सभापति ।’
राजु दावा राईको मत भने अलि फरक छ । गुट्खा खानु निजी मामिला भन्दै उनी लेख्छन्, ‘घुस खा'को हैन रहेछ, गुट्खा त खाको रच नि, ठिकै छ’ । राम बन्धुले पनि ‘भ्रष्टाचार गरेर घुस खाएको भन्दा गुट्खा खाएको धेरै राम्रो’ भन्दै प्रतिक्रिया दिएका छन् ।
स्मरण रहोस्, नेता कोइराला गुट्खाकाे कारण विवादमा परेको यो पहिलोपल्ट भने होइन । गत साउन ७ गते प्रतिनिधिसभा बैठक चलिरहेकै बेला प्याकेट खोलेर गुट्खा मुखमा हालेपछि उनको चर्कै आलोचना भएको थियो । त्यसअघि ०७८ पुस ६ गतेको बैठकमा पनि उनले गुट्खा खाएको भिडियो भाइरल भएको थियो ।
टिप्पणीहरू