कुलमानलाई जिल्याउँदै जेनजी अगुवा रवितिर

कुलमानलाई जिल्याउँदै जेनजी अगुवा रवितिर

जेनजी अगुवा भनिएका पुरुषोत्तम यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बन्न आवेदन दिएका छन् । 

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले समानुपातिक प्रणालीतर्फ उम्मेदवार छान्न खुला दरखास्त आह्वान गरेकोमा उनले निवेदन दिएको खुलेको हो । रास्वपाले गएराती सार्वजनिक गरेको सूचीमा यादवको नाम मधेशी क्लष्टरमा छ । 

रास्वपाले सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरेको थियो । समितिले कात्तिक तेस्रो साता सूचना जारी गर्दै लोकसेवाले खरिदारको विज्ञापन खुलाएको शैलीमा उम्मेदवारको बन्न चाहनेहरूका लागि ५० हजार दस्तुर तोकेर आवेदन आह्वान गरेको थियो । जसमा डेढ सय बढीले इच्छा जाहेर गरेको बुझिएको छ । 

त्यसैबीच ५० हजार दस्तुर महँगो भएको भन्दै सार्वजनिक आलोचना भएपछि समितिले विपन्न वर्गका लागि छुट्टै कोटा निर्धारण गरेको थियो । त्यसका लागि पार्टीको स्थानीय कमिटीबाट सिफारिस र विपन्नताको परिचय पत्र पेश गर्न भनिएको थियो । सिरहा घर भएका यादवले ५० हजार शुल्क तिरेर आवेदन दिएका हुन् वा विपन्नताको परिचय पत्र पेश गरेका हुन्, त्यो भने खुलाइएको छैन ।

 

सुदन गुरुङ नेतृत्वको जेनजी काउन्सिलका मधेश प्रदेश संयोजकसमेत रहेका उनले रास्वपाबाट उम्मेदवार बन्ने आकांक्षा राखेपछि यतिबेला सो समूहका अन्य युवा अचम्ममा परेका छन् । यसअघि यादव कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बन्न लागेको चर्चा थियो । 

हिजो उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै उनी नख्खु कारागारसमेत पुगेका थिए । 

रास्वपाले उम्मेदवारका आवेदकहरूबीच यहि पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन गरेर १५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

टिप्पणीहरू