भीम रावलको पछि लागेको भन्दै एमालेमा कारवाही भटाभट
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा जोडिनेलाई खोजीखोजी कारवाही गरिरहेको नेकपा एमालेले थप नेता-कार्यकर्तामाथि कारवाहीको डण्डा बर्साएको छ । पछिल्लो पटक रावलको गृह प्रदेश सुदूरपश्चिमका पाँच नेता निष्कासनमा परेका हुन् ।
प्रदेश कमिटीले उनीहरुको पार्टी सदस्यसमेत नरहने गरी निष्काशनको कारवाही गरेको जनाएको छ । कारबाहीमा पर्नेमा प्रदेश कमिटी सदस्य दुधकला विष्ट, जंगबहादुर विक, केशर मियाँ, सल्लाहकार परिषद् सदस्य हर्क कुँवर र लालबहादुर खड्का छन् । उनीहरुलाई भीम रावलको पछि किन लागेको भन्दै यसअघि स्पष्टीकरणसमेत सोधिएको थियो ।
त्यसमध्ये खड्काले चित्त बुझ्दो जवाफ दिएपछि उनलाई एक पटकका लागि छोडिएकोमा फेरि सोही अभियानमा लागेकोले कारबाही गर्नुपरेको जनाइएको छ । विकले भने स्पष्टीकरणको जवाफ नै नदिएकाले पार्टीबाट निष्काशन गरिएको जानकारी दिइएको छ ।
‘हालसम्म पनि नसच्चिएका र सोही गतिविधिमा नै संलग्न रहिरहेको प्रमाणित भएकोले प्रदेश कमिटीको पाँचौ सचिवालय बैठकले धारा ८१ को उपधारा (१) बमोजिम निजहरु पाँच जनालाई पार्टी सदस्यताबाट निष्काशन गर्ने निर्णय गरिएको जानकारी गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू