वामदेवको बाटो यसरी भयो बन्द

वामदेवको बाटो यसरी भयो बन्द

नेकपाकालमा प्रचण्डको साथ छोडे प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाइदिने आश्वासन दिँदै अन्तिममा ‘घर न घाट’ को बनाइयो, अहिले पार्टीमा समाहित गर्ने लोभ देखाएर एकीकृत समाजवादीमा जानबाट रोक्दै अलपत्र पार्ने काम भयो । कुनै बेलाका आफ्नै सहयोद्धा वामदेव गौतमको हकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको यस्तो रवैया देखिएको हो । 

तत्कालीन नेकपामा अन्तरविरोध चर्किएका बेला प्रचण्ड–माधव समूहतिर लागेका तर पार्टी विभाजनपछि तटस्थ रहँदै ‘राष्ट्रिय एकता अभियान’ चलाइरहेका वामदेव पुरानै घर फर्किन आतुर थिए । त्यसनिम्ति सार्वजनिक ‘याचना’ समेत गरिरहेका उनलाई पार्टीमा ठाउँ दिन ओली तयार भएको चर्चाले अघिल्लो साता वामवृत्त तरंगित भयो । तर, गत मंगलबार बेलुकी बालुवाटारमा बसेको सचिवालय बैठकले बाहिर भन्दा ‘सहकार्य गर्दै जाने’ तर माइन्युटमा चाहिँ छिर्न नदिने निर्णय गरेर वामदेवका लागि एमाले प्रवेशको ढोका बन्द गरिदिएको छ । 

एमालेले पद दिने अवस्था नरहेको निश्कर्षका साथ पार्टीमा नल्याउने निर्णय गरेपछि राजनीतिक जीवनको उत्तरार्धमा ‘दलविहीन’ बनेका वामदेव थप कमजोर भएका छन् । किनभने एमालेमा फर्किने निर्णयसँगै एकातिर उनी नेतृत्वको एकता अभियान छिन्नभिन्न भएको छ भने अर्कोतिर एकीकृत समाजवादीमा मिसिन पनि अब नैतिक संकट पर्नेछ । 

वामदेवलाई पार्टीमा भित्र्याउन तयार नभएको एमालेले ‘सहकार्य गरेर जाने’ निर्णय लिनुअघि सचिवालय बैठकमा लामो छलफल भएको थियो । शुरुमा अध्यक्ष ओलीले शुक्रबार र आइतबार वामदेवसँग भएका संवाद र सहमतिबारे जानकारी गराउँदै निर्णयका लागि औपचारिक प्रस्ताव राखे । ‘उतातिर माधव नेपालले मञ्जुर गरिसके, सम्मानसहित जिम्मेवारी दिने भए आउँछु भनेका छन्, के गर्ने ?’, वामदेवको भनाइ सुनाउँदै ओलीको प्रस्ताव थियो, ‘यति ठूलो विषय मैले मात्र भनेर हुँदैन, बैठकले निर्णय गरोस् !’ तर, ओलीलाई सर्वस्वीकार्य नेता बनाउन कस्सिएका शंकर पोखरेलहरू मात्र होइन, दश भाइ समूहका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि वामदेवलाई काँध थप्न तयार भएनन् । स्रोतका अनुसार १७ सदस्यीय सचिवालय सदस्यमध्ये बैठकमा १० जनाजतिले धारणा राखेकामा उपमहासचिव प्रदीप ज्ञवालीबाहेक सबै वामदेवलाई पार्टीमा ल्याउन नहुनेमा प्रष्ट खुलेका थिए । वामदेवलाई अस्थिर नेताको संज्ञा दिँदै विधान संशोधन गरीगरी पद दिन नहुनेमै उनीहरूको जोड रह्यो । 

वामदेवले विगतमा सधैँ अप्ठेरो मात्र पारेको र अब उनको उपादेयतासमेत सकिएको दावी गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा भित्र्याउने प्रस्तावको कडा विरोध गरे । ‘व्यक्तिगत कुरा हैन’ भन्दै विपक्षमा बोलेका उनी वामदेव आउँदा वरीयता तलमाथि हुने चिन्ताले आक्रामक देखिएको नेताहरू बताउँछन् । ईश्वर अवरोधमा उभिनुको कारण अध्यक्ष ओलीपछिको वरीयतामा रहेका उनी वामदेवभन्दा कनिष्ठ हुन् । एमालेको नवौँ महाधिवेशनमै उपाध्यक्ष बनेका र नेकपाकालमा पनि सोही पदमा रहेका वामदेव आउँदा वरीयता तेस्रोमा झर्ने निश्चित थियो । 

अघिल्ला बैठकहरूमा अध्यक्षसँग कतिपय एजेण्डामा बिमति राख्ने गरेका उपाध्यक्षद्वय युवराज र अष्टले यो बैठकमा भने आश्चर्यजनकरूपमा ओलीको मनकै कुरा बोलिदिए । ओलीले जस्तै वामदेवप्रति संशय र शंका व्यक्त गर्दै उनीहरूले धोकेवाजको आरोप लगाउन पनि भ्याए । वामदेवसँग ०२८ सालदेखि संगत गरेको स्मरण गर्दै युवराजले भने, ‘उहाँलाई मैले जति पार्टीमा अरु कसले बुझेको होला र !, ऐन–मौकामा जहिल्यै धोका दिनुभएको छ, अब किन ल्याउनुपर्‍यो पार्टीमा ?’

अष्टले पनि वामदेवले विगतमा धोका दिएकाले पार्टीमा ल्याउन नहुने आशयको धारणा राखेकी थिइन् । ‘उहाँ नेता त पुरानो हो, तर, ०५४ सालमा पार्टी फुटाउनुभयो । पछि आफैँ फुटेर जानुभयो’, उनको भनाइको सार स्रोतले सुनायो, ‘पार्टीमा ल्याउँदा फेरि गुटबन्दी गर्नुहुन्छ ।’ उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि अध्यक्षलाई नै निर्णय गर्ने जिम्मा दिनु उपयुक्त हुने भन्दै बीचवाले धारणा राखेका थिए । बैठकमा अर्थमन्त्रीसमेत रहेका अर्का उपाध्यक्ष विष्णु पौडेलले भने खासै बोलेनन् । बरु कहिल्यै नबोल्ने माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल वामदेवप्रति नकारात्मक सुनिए । अध्यक्ष ओलीले ‘के गर्ने त बादल कमरेड ?’ भनेर सोधेकोमा एमाले बनाउनेमध्येका एक वामदेवप्रति उनको जवाफ रह्यो, ‘उहाँलाई पार्टीमा ल्याउँदा गुटबन्दी हुन्छ, पार्टी नै विघटनतिर जानसक्छ, ल्याउन हुँदैन !’ यसअघिका बैठकमा कहिल्यै चुइँक्क नगर्ने उनलाई सोधेर प्रतिक्रिया दिन लगाइएकोमा नेताहरूले आश्चर्य जनाएका छन् । ‘विष्णु पौडेल, पिएसहरूलाई नसोध्ने, बादललाई सोध्ने कुराले उनी पहिल्यै प्रशिक्षित थिए भन्ने बुझिन्छ’, एक जना सचिवलय सदस्य भन्छन्, ‘ईश्वर पोखरेलको त चिन्ता बुझ्न सकिन्छ, तर युवराज, अष्ट र बादलको के जाने रैछ र विरोध गरेका हुन् कुन्नि !’

वामदेवसँग वार्ता गर्न अध्यक्षको तर्फबाट खटिएका उपमहासचिव प्रदिप ज्ञवालीले भने सहमतिअनुसार निर्णय गर्नुपर्ने मत राखेका थिए । तर, अध्यक्षले जे चाह्यो त्यही हुने अवस्थाका बीच उपाध्यक्षहरूसमेत विपक्षमा उभिएकाले प्रदीपले चाहेजस्तो निर्णय बैठकले गर्ने सम्भावना थिएन । अन्तिममा माइन्युट लेख्न निर्देशन दिँदै ओलीले व्याख्या गरे, ‘विधान संशोधन गरीगरी पद दिनसक्ने अवस्था छैन । उनी सदस्य भएर बस्दैनन् र त्यसको लागि आउन खोजेको पनि हैन । यहाँ आएर फेरि गालि गर्ने, कराउने नानाभाँती गर्न थाल्छन्, फेरि भीम रावलको जस्तै कारवाही गर्नुपर्ने अवस्था आउँछ । त्यसैले सहकार्य गर्दै जाने कुरा नै ठीक छ ।’  तर, अर्का एक सचिवालय सदस्यले भने ‘वामदेवलाई नल्याउने’ औपचारिक निर्णय नै भएको बताएका छन् । ‘सहकार्य गर्दै जाने भन्ने कुरा बाहिरी समाचार हो, खासमा चैँ नल्याउने नै निर्णय भएको हो, माइन्युटमै लेखिएको छ’, उनले भने । 

यता, एमाले सचिवालय बैठकको ‘सहकार्य गर्दै जाने निर्णय’ प्रति वामदेवले भने असन्तुष्टि व्यक्त गरेका छन् । एमालेले आफ्नो महत्व नबुझेको सार्वजनिक टिप्पणी गरेका उनले निर्णयबारे थप प्रष्ट हुन भोलिपल्टै महासचिव डिबी कार्की र अर्का एक जनालाई च्यासल पठाएका थिए । वामदेवका लागि विधान संशोधन नगर्ने निर्णय गरेको सचिवालय बैठकले आगामी भदौ २० देखि २२ सम्म विधान महाधिवेशन गर्ने भनेको छ । भनिंदैछ, प्रधानमन्त्री भएकै बेला ‘अर्ली महाधिवेशन’ गरेर अध्यक्षमा तेहेरिने ओलीको रणनीति छ । त्यसनिम्ति हाल निलम्बनमा रहेको ७० वर्षे उमेर हदसम्बन्धी विधानको प्रावधान विधान महाधिवेशनबाट हटाइँदै छ । सचिवालय बैठकमा अध्यक्ष ओली निकट दुई नेताले फरक–फरक मिति प्रस्ताव गरेका थिए । चैतमा गर्ने उपाध्यक्ष विष्णु पौडेलको जोड रहँदा महासचिव शंकरले असोज १५ को मिति प्रस्ताव गरे । तर, उक्त दिन दशैँको नवमी पर्ने भएकाले बैठकमै क्यालेण्डर पल्टाएर भदौको साइत जुराइएको हो । 

‘अरुले तयारी गर्न भ्याउँदैनन् र झ्याप्पझुप अध्यक्ष बनाउन सकिन्छ भन्ने हिसाबले चैतको मिति प्रस्ताव गरे पनि बैठकले भने आठ महिनापछि महाधिवेशनको मिति तोकेको एक जना सचिवले बताए ।
 

टिप्पणीहरू