शहीद दिवस मनाउन भारी संख्यामा सुरक्षाकर्मी सामेल

शहीद दिवस मनाउन भारी संख्यामा सुरक्षाकर्मी सामेल
सुन्नुहोस्

शहीद सप्ताहको अन्तिम दिन आज भव्य रुपमा शहीद दिवस मनाइँदैछ  । प्रजातन्त्र स्थापना तथा विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान गरेका शहीदहरुको सम्झनामा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । 

शहीद सप्ताहको अन्तिम दिन आज सरकारको तर्फबाट औपचारिक रुपमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । सोमबारको क्याबिनेट बैठकले सो निर्णय गरेको थियो । त्यसैअनुसार प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारी लगायतले आज शहीदगेट पुगेर शहीदको शालिकमा माल्यार्पण गर्नेछन् । 

प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद स्मारक पुग्ने र सिंहदरबार परिसरमा आयोजना हुने कार्यक्रममा सरिक हुने कार्यक्रम छ । सरकारले यसरी भव्यरुपमा शहीद दिवस मनाइरहँदा आमरुपमा भने त्यस्तो रौनक देखिंदैन । विभिन्न संघसंस्थाले शहीदगेट र लैनचौरस्थित शहीद स्मारकमा गर्ने कार्यक्रम पनि औपचारिकतामा सिमित रहने गरेको छ । 

यसैबीच प्रधानमन्त्रीसमेत सहभागी हुने सिंहदरबार परिसरको कार्यक्रममा सहभागिता बढाउन ठूलो संख्यामा प्रहरीलाई उपस्थित गराइँदैछ । 'शहीद दिवस २०८१' कार्यक्रमका लागि प्रहरी प्रधान कार्यालय र उपत्यकास्थित विभिन्न कार्यालयमा कार्यरत इन्स्पेक्टर र सोभन्दा माथिल्लो दर्जाका ड्युटीमा खटिएका बाहेकलाई तुरुन्त सिंहदरबार परिसरमा भेला हुन भनिएको छ ।

बताइएअनुसार एआइजी र डिआइजी दर्जाकालाई साढे ११ बजे, एसएसपी र एसपी दर्जालाई ११ बजे र अन्य दर्जाका प्रहरीलाई पौने ११ बजे परिचय पत्रसहित भद्र र सादा पोशाकमा सिंहदरबार परिसरमा बोलाइएकोमा उनीहरु उपस्थित भैसकेका छन् ।

टिप्पणीहरू