पूर्वराष्ट्रपतिलाई राजनीतिमा नलाग्न महामन्त्रीको सल्लाह
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय नहुन सल्लाह दिएका छन् ।
भण्डारी नेकपा एमालेमा फर्किने तरखरमा रहेको चर्चाले राष्ट्रिय राजनीति गर्माइरहेका बेला शर्माले मुलुकको सबैभन्दा माथिल्लो पदमा पुगेको व्यक्ति दल विशेषमा सिमित रहन नहुने धारणा राखेका हुन् । एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक विमोचन कार्यक्रममा पूर्वराष्ट्रपतिकै अगाडि उनले सक्रिय राजनीतिमा नआउन आग्रहसमेत गरे ।
‘फेरि राजनीतिमा आउन चाहनुभएको हो कि साथीहरूले इच्छा राख्नुभएको हो कि भन्ने चर्चा पनि छ । यदि कसैले मलाई तिम्रो देशको शीतल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिले के गर्नुपर्छ भनेर सोध्नुभयो भने अहिलेसम्मका दुवै पूर्वराष्ट्रपतिहरू सामाजिक रुपान्तरणको नायक बन्नुपर्छ भन्ने मान्यता राख्दछु’, मञ्चमा सँगै रहेकी भण्डारीतर्फ हेर्दै शर्माले भने ।
देशको अभिभावक भइसकेको मान्छे कुनै दलमा सिमित हुँदा राम्रो सन्देश नजाने उनको भनाई छ । राजनीतिमा आएर एउटा दलको मात्र बन्ने कि सामाजिक परिवर्तनको नायकका रुपमा सबैको साझा पात्र बन्ने दुवै अवसर भण्डारीसँग रहेको उनले बताए ।
विकल्प छनोटको अधिकार पूर्वराष्ट्रपति भण्डारीलाई रहेको उल्लेख गर्दै महामन्त्री शर्माले सामाजिक रुपान्तरणको प्रेरक बन्न शुभकामनासमेत दिए ।
टिप्पणीहरू