परराष्ट्रमन्त्रीले दिल्लीमा बोलेको कुराले यता बबाल

परराष्ट्रमन्त्रीले दिल्लीमा बोलेको कुराले यता बबाल

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गतसाता गर्नुभएको भारत भ्रमण विवादमा तानिएपछि सो को स्पस्टिकरणस्वरुप हिजो धनगढीमा बोल्दा उक्त भ्रमण राजनैतिक भेटघाटका लागि नभई काठमाडौं विश्वविद्यालयको कार्यक्रममा सहभागी हुनका लागि भएको दाबी गर्नुपरेको छ । 

उहाँले भारतको कार्यक्रम चीन जानुअघि नै तय भएको उल्लेख गर्दै भन्नुभयो, ‘भारतमा प्रधानमन्त्री अथवा कुनै मन्त्रीलाई भेट्ने योजना थिएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने तयारी भइरहेको छ । त्यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको निम्तो आउनेमा विश्वस्त छु ।’ तर,इण्डिया फाउण्डेशनको छलफल र त्यहाँ राखिएको धारणाबारे उहाँले प्रष्ट पार्नुभएको छैन ।

हिजो अपरान्ह धनगढी विमानस्थलमा पुगेर उहाँले उक्त धारणा राखिरहेकै बेला राजधानीबाट सञ्चालित एउटा अनलाइन न्युज पोर्टलमा उहाँको फोटो र स्रोतको हवाला दिँदै बिआरआई सम्झौतामा नेपाली काँग्रेसले बाध्यताबस् हस्ताक्षर गरेको समाचार प्रकाशित भएको थियो । नयाँ दिल्लीस्थित इण्डिया फाउण्डेशनको कार्यक्रममा पुस ८ गते सहभागी परराष्ट्रमन्त्री राणाले बिआरआईमा सम्झौता नगरेको भए एमाले र माओवादी मिल्ने खतरा रहेको धारणा राखेर भारतीय अधिकारी र बुद्धिजीवीहरुलाई आश्वस्त पार्न खोजेको खबर थियो ।

उक्त फाउण्डेशनका अध्यक्ष भाजपाका पूर्वसचिव राममाधवसहित केही भारतीय विद्वान सहभागी कार्यक्रममा ‘बिआरआईमा हस्ताक्षर गर्न नमानेको भए चीनले पनि भ्रमणलाई महत्व दिने थिएन । प्रधानमन्त्रीको भ्रमण नहुन सक्थ्यो । चिनियाँ राजदूतले बिआरआईमा हस्ताक्षर नगरे राष्ट्रपति सि जिनपिङसँग भेट नहुनसक्ने संकेत दिएका थिए,’ भनेको समाचार कूटनीतिक मर्यादा बाहिरको विषय भएकाले निकै संवेदनशील मानिएको छ । उक्त कार्यक्रमको फोटोसहित प्रकाशित समाचारमा लेखिएको छ, ‘बिआरआईमा हस्ताक्षर नगरेको भए भ्रमणको औचित्य नहुने भन्दै प्रधानमन्त्रीले पनि अडान लिएपछि काँग्रेसले बाध्यतामा सहमति जनाएको हो ।’

नयाँ दिल्लीमा बोलिएको भनिएको सो समाचारलाई परराष्ट्रमन्त्रीको सचिवालयले पूरै नकारेको छ । मन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले मन्त्रीले बोल्दै नबोलेको कुरो उल्लेख गरिएको भन्दै उक्त समाचारलाई कपोलकल्पित भन्ने टिप्पणी गरेका छन् । उनले संक्षेपमा बताए,‘यो सब हावा प्रचारबाजी हो ।’

टिप्पणीहरू