रवि लामिछानेमाथि अत्याचार भएको दावी गर्दै आयोगमा उजुरी

रवि लामिछानेमाथि अत्याचार भएको दावी गर्दै आयोगमा उजुरी
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिरासतमा रहेका सभापति रवि लामिछानेमाथि प्रहरी प्रशासनले अमानवीय व्यवहार गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग गुहारेको छ । 

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले लामिछानेको जीवन रक्षाको माग गर्दै आज आयोगमा उजुरी दर्ता गराएका हुन् । हिरासतमा लामिछानेलाई  मानसिक यातना दिने कार्य भएको उजुरीमा उल्लेख छ । 

 ‘प्रहरी अनुसन्धानका लागि भनि लगिएको उहाँलाई कात्तिक २ गते रातिदेखि विभिन्न किसिमले मानसिक यातना दिनुका साथै मानवअधिकार समेत हनन हुने गरी राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएकोतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं’, रास्वपाले भनेको छ । 

राज्य संयन्त्रले नियोजित रुपमा सञ्चारमाध्यम प्रयोग गरी लामिछानेविरुद्ध प्रचार प्रसार गराई बदनाम गरेको पनि रास्वपाको दावी छ । उजुरीमा भनिएको छ, ‘रवि लामिछानेको मानहानी, गोपनीयताको हननका साथै चरित्र हत्या गर्ने कार्य भइरहेको छ । यसरी न्यायिक प्रक्रियालाई प्रभाविक पार्न राज्यसंयन्त्र एक सार्वजनिक व्यक्तित्व विरुद्ध नियोजित रुपमा परिचालन गरिएको प्रष्ट छ ।’

लामिछाने सुतिरहेको अवस्थामा राति ११ बजे उठाएर प्रहरीले चितवनबाट पोखरा लैजाँदा लामिछानेको नैसर्गिक मानवअधिकार हनन भएको रास्वपाको ठहर छ । त्यस्तै, हिरासतबाटै लामिछानेको डायरी गायब पारेर सरकारले मौलिक तथा गाेपनियताको हक छिनेको जिकिर गरिएको छ । 

रास्वपाले लामिछानेको मौलिक अधिकार सुनिश्चित गर्न, उनीमाथि भएका मानव अधिकार हननका घटनाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कानुनी बमोजिम कारवाही गर्न र लोकतान्त्रिक मानवअधिकारको रक्षार्थ सक्रिय कदम चाल्न आयोगसमक्ष आग्रह गरेकाे छ ।
 

टिप्पणीहरू