साढे दुई घण्टा बाँकी रहँदा नलगाडमा ५४ प्रतिशत मतदान
स्थानीय तह उपनिर्वाचन अन्तर्गत जाजरकोट नलगाड नगरपालिकाको उपमेयर पदका लागि मतदान जारी छ ।
बिहान ७ बजेटमा शुरु भएको मतदानमा मतदाताहरूले उत्साहजनक सहभागिता जनाएका छन् । दिउँसो साढे २ बजेसम्म ९ हजार ५७३ जना (५४ प्रतिशत) ले मतदान गरेको निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए । यहाँ कूल १६ हजार ४४६ मतदाता छन् ।
घिमिरेका अनुसार १६ वटा मतदानस्थलका २४ मतदान केन्द्रमा अहिले शान्तिपूर्ण र भयरहीत वातावरणमा मतदान भैरहेको छ ।
गत निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर सरिता सिंहको गत वर्षको भूकम्पमा परेर निधन भएसँगै नलगाडमा उपचुनाव भएको हो । उक्त पदका लागि कांग्रेसबाट ईन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, माओवादी केन्द्रबाट देवका लामिछाने ‘शोभा’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पार्वती पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुनिता रावल पुन र नेपाल समाजवादी पार्टी (नेसपा)बाट पवित्रा जैसी चुनावी मैदानमा छन् ।
यहाँ प्रमुख तीन पार्टी कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।
टिप्पणीहरू