किन भएन प्रतिपक्ष, किन भएन क्रान्ति ?

किन भएन प्रतिपक्ष, किन भएन क्रान्ति ?

विपक्ष नै नभएको मुलुकमा क्रान्तिको कुरा गर्नु अर्घेल्याइँ हुन्छ । अराजकता, बेथिति, बेरोजगारी बढे पनि घुसखोरी, लुटाहा, भ्रष्टाचारी र ज्यानमाराहरूले खुलेआम मस्ती गर्दा अचाक्ली हुन्न, त्यो मनासिवै ठहरिन्छ । तर राजनीतिमा जनताले कुनै एक आन्दोलनकारीलाई विश्वास गरे भने मै हुँ भन्नेको पत्ता साफ हुन कुनै आइतबार कुर्नु पर्दैन । अहिले बंगलादेशको आन्दोलनलाई हाम्रो सन्दर्भसँग दाँजेर हेरौँ ।

त्यहाँको आर्थिक स्थितिमा सुधार भएकै थियो । बेरोजगारीको ठूलो समस्या थिएन । कूल गार्हस्थ उत्पादन वृद्धि भएकै होे । नेपालमा भने त्यस्तो केही छैन । उद्योग, कलकारखाना खोलिएका छैनन्, बेरोजगारी समस्या झनै बढेको छ । बंगलादेशको तुलनामा नेपालमा केही पनि विकास भएको छैन र ठूलै क्रान्ति नहुनुको पछि भरपर्दो नेता देखा परेका छैनन् । ठूला पार्टीका नेताभन्दा सानो पार्टीका झनै खराब निस्किएपछि जनता निराश छन् । प्रतिपक्ष पनि भरपर्दो भएनन् । 

पहिला त एउटा पक्ष सरकार हुन्थ्यो, अर्को विपक्ष । अहिले भारतमाजस्तो दमदार विपक्ष भन्ने नै छैन । सरकार बहुमतमा भए पनि अर्को शक्तिशाली दल प्रतिपक्षमा हुँदा कांग्रेसभित्र ६०–४० को अवस्थाका कारण कतिपय कुरामा चेक एण्ड ब्यालेन्स हुन्थ्यो । प्रतिपक्षले आन्दोलन गरेर भए पनि सरकारलाई ठीक साइजमा ल्याउँथ्यो अहिले त त्यो अवस्था छैन पनि । दुवै ठूलो दल सत्तामा छन् र दुवैका कार्यकर्ता खुशी छैनन् । युवा तथा विद्यार्थीजस्ता ऊर्जाशील युनिट चुपचाप छन् ।

युवा कोही महामन्त्री गगन थापाको, कोही सभापति शेरबहादुर देउवाको होलान्, त्यसैगरी एमालेमा कोही महेश बस्नेतका होलान् त कोही ऐन सिंह महरा र किशोर बम मल्लका पक्षधर होलान् । सत्तारुढ दलले आफ्नै कार्यकर्तालाई समेट्न नसकेको बेला विपक्षलाई ऊर्जा दिने कुरै आउँदैन । कानुनी राज्य र विधिको शासन छैन । सनकका भरमा, मनमा जे आयो त्यही ग¥यो । मालपोतमा घुस नदिइकन कामै हुन्न ।

म नेपालमा जन्मिएको थिएँ, मलाई नेपाली नागरिकता देऊ भन्दा पनि घुस खुवाउनै पर्ने अवस्था छ । कुलमान घिसिङजस्तालाई बर्खास्त गर्दा उत्पन्न हुन सक्ने परिस्थितिबारे सत्ताधारी दलले कुनै आकलन गरेका छैनन् । सरकारमा एउटा बस्ने, शक्तिमा भने अरुले नै कब्जा गर्ने परिपाटी पनि देखिएको छ । भूराजनीति, धार्मिक तथा साम्प्रदायिक लफडाका विषयमा सत्तामा रहेका दलहरू गम्भीर देखिएनन् । पहाडमा गुम्बा र चर्च, तराईमा मदरसा बढेको बढ्यै छ, यसले दीर्घकालमा के प्रभाव पार्छ भन्ने विषयमा पनि कुनै चासो व्यक्त गरेको पाइँदैन ।

यस्तो अवस्थामा पनि क्रान्तिको ज्वार बलेको छैन । यसका पछि क्रान्ति गर्न सक्षम युवा जनशक्ति पलायन भएको र विश्वासिलो नेतृत्व नेपाली जनताले नपाएको कुरा घाम जत्तिकै छर्लंग छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू