कांग्रेस र एमाले डेलिभरी दिनका लागि मिलेको गृहमन्त्रीको दाबी
गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार जनतालाई डेलिभरी दिनका लागि बनेको दाबी गरेका छन् ।
सिरहा र धनुषामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुन आज बिहान जनकपुर पुगेका उनले त्यस्तो दाबी गरेका हुन् । मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायमगर्न सरकार कटिवद्ध रहेको मन्त्री रमेशको भनाई छ ।
'यो सरकार मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा अघि बढेको छ', उनले दावीका साथ भने, 'हामी त्यही ढंगले काम सम्पादन गर्छौं । यो सरकार डेलिभरी गर्नका लागि बनेको सरकार हो, डेलिभरी हुन्छ । मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुन्छ ।’
संविधान कार्यान्वयन, समावेशितालाई थप सुदृढ, विकास निर्माणका कामहरुलाई द्रुत गति दिने उद्देश्यका साथ कांग्रेस-एमाले गठबन्धन बनेको जिकिर गर्दै उनले त्यसनिम्ति सरकारले काम गरिरहेको पनि बताए ।
गृहमन्त्री रमेशले प्रदेशका प्रहरी समायोजनका लागि संघीय प्रहरी कानून संशोधन गर्न लागिएको पनि जानकारी दिए । गृहलेबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसदमा पेश हुने उनको भनाई छ।
प्रहरी सम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरु हुने गृहमन्त्रीको दाबी छ ।
टिप्पणीहरू