आफूले लागुऔषध छाड्ने, अरुलाई नशामुक्त बनाउने

आफूले लागुऔषध छाड्ने, अरुलाई नशामुक्त बनाउने

लागुऔषध दुर्व्यसनमा फसेकाहरु कुलत छोड्न सफल भएपछि सकभर आफ्नो परिचय लुकाउन खोज्छन् । आफ्नो विगत कसैले पनि थाहा नपाओस् भन्ने उनीहरुको चाहना हुन्छ । यसकारण उनीहरु आफूजस्तै दुर्व्यसनीमा फसेकालाई सहयोग गर्नबाट पछि हट्छन् । 

तर, विराटनगरका ५५ वर्षीय कपिल आचार्य भने फरक देखिन्छन् । २० वर्ष लागुऔषध सेवन गरेर लाखौं सकाएका उनी अहिले अन्यलाई नशामुक्त बनाउन लागिपरेका छन् । ‘क्रोनिक दुर्व्यसनी’ बनिसकेका उनले चटक्कै लागुऔषध छाडेर कुलतमा फसेकालाई नशामुक्त बनाउन व्यवहार परिवर्तनको शिक्षा सिकाइरहेका छन् । 

मोरङको विराटनगर महानगरपालिका–९ निवासी उनले नेपालीमा एमए गरेका छन् । कलेजले आकर्षक तलब दिन्छुभन्दा पनि उनी पढाउन गएनन् । बरु आफूजस्तै कुलतमा फसेकालाई नशामुक्त बनाउन सुधार केन्द्र धाउन थाले । पाँच वर्षदेखि उनले निःशुल्क दुर्व्यसनीमा फसेकालाई पढाउँदै आएका छन् । 
सुधार केन्द्रमा भर्ना भएकाहरुलाई हिम्मत गर, आत्मविश्वास बढाऊ, नशामुक्त बन्न सकिन्छ भनेर हौसला प्रदान गर्दै आफ्नो अनुभव सुनाउँछन् । धनीमानी बुवाका छोरा कपिल कलेज पढ्दै गरेको अवस्थामा लागुऔषधको लतमा फसे । गाँजा, रक्सी, फेन्सिडिल, कोरक्स, टिडीजेसिक, ब्राउनसुगर सबै खाए । उनी फेन्सिडिल हुँदै ट्याब्लेट, ब्राउनसुगर र रक्सी सेवन गर्ने बने । 

लागुऔषध सेवनबाटै उनले बुवाले आर्जेको लाखौंको सम्पत्ति स्वाहा पारे । सो कुरा सम्झिएर उनी अहिले थकथकी मान्छन् । आफूसँगै लागुऔषध सेवन गर्ने साथीहरुलाई उनले कैयौंपटक पैसा पनि दिए । बुवाले कमाएको सम्पत्ति सकाएकोमा पश्चाताप मान्दै उनी भन्छन्, ‘मैले नशा नखाएको भए न मेरो सम्पत्ति सकिन्थ्यो । न मेरो जीवनको २० वर्ष अन्धकारमा पर्थ्यो ।’ आफूलाई नशा खाने पैसा नदिएको झोंकमा उनले छोरालाई करेन्ट लगाउने प्रयास पनि गरेका थिए । नशामुक्त भएपछि छोरा पढाउने पैसा नहुँदा उनले विरक्तिएर आत्महत्याको कोसिश गरेको बताए ।  

नशा अभावमा किरियास्थलबाटै भाग्ने प्रयास

कुलतमा फसेपछि मान्छे हदैसम्मको कठोर र संवेदनहीन बन्छ । कपिल पनि त्यस्तै भए । आफ्नै बुवाको काज किरियाको समयमा समेत उनमा करुणा जागेन । घरमा रुवाबासी चल्दा उनलाई कुनै फरक नै परेन । बुवालाई जलाउँदा घाटबाट र किरिया बस्दा घरबाट उनी पटकपटक भाग्न खोजे । नशा खान नपाउँदा छटपटिन्थे । तर, आमालाई सम्झिन्थे । २०४० भदौ १९ गते उनले कहिल्यै नशा सेवन नगर्ने प्रण गरे । आज पनि कपिल सो बोल्ड निर्णय लिएको दिन स्मरण गर्छन् । 

मायाप्रेमको अभाव र संगत जरुरी 

नशामुक्त भएर समाजमा पुनर्स्थापित भई खुशीमय जिन्दगी बिताइरहेका कपिल मायाप्रेमको अभाव, साथीसंगत र बेवास्ताले मान्छे दुर्व्यसनी बन्ने बताउँछन् । गाली गरेर, डरत्रास, यातना दिएर दुर्व्यसनी ठीक हुन नसक्ने उनको बुझाइ छ । ‘कुलतबाट निस्किन मायाप्रेम र हेरचाह चाहिन्छ । माया र हेरचाह नपाएकै कारण सुधार केन्द्रमा भर्ना भएका आठ प्रतिशत मात्र नशामुक्त हुन सफल हुन्छन् । समाजले अहिलेपनि यस्तोमा फसेकालाई हेला गर्छ । अझै सुधार केन्द्रमा बसेर आउनेलाई हेलाँ गरिन्छ । सकभर टोलमा नै बस्न दिँइदैन् । उनीहरुलाई समाजमा खुलेर बाँच्न सक्ने वातावरणको सिर्जना गर्नुपर्छ’,उनले भने । तीन तहको सरकारले समन्वय गरेमा मात्र नशामुक्त अभियान सफल हुनेमा उनी विश्वस्त छन् । 

सुधार केन्द्रमा सुधार जरुरी 

पाँच वर्षदेखि विराटनगरका आधा दर्जन सुधार केन्द्रमा नशामुक्त हुने उत्प्रेरणा जगाउँदै आएका कपिल परम्परागत तौरतरिकाले चल्दै आएका सुधार केन्द्रमा आमूल सुधारको खाँचो रहेको बताउँछन् । उनका अनुसार अधिकांश सुधार केन्द्रमा आवश्यक भौतिक पूर्वाधार छैन् । सुधार केन्द्रले तोकिएको मापदण्ड पुरा गरेका छैनन् । धेरै सुधार केन्द्र भाडाको साँघुरो घरमा जेलजसरी सञ्चालन भइरहेको उनको भनाइ छ । केहीमा ८० जनाले एउटै शौचालयको प्रयोग गर्नुपर्ने बाध्यता छ । बिजुली पनि २४ सै घण्टा आउँदैन । जसले गर्दा कोठामा थुनेर राखिएकाहरु आत्तिन्छन् । 

उनीहरुलाई चिसो भुइँमा सुताइन्छ । जाडोमा उपचार गराउन आएकाहरु चिसोले कठयाङ्ग्रिएर बिरामी पर्छन् । एउटै कोठामा सुताउँदा यौन शोषणमा पर्ने गरेको उनले बताए । नुहाउने सुविधाजनक स्थान हुँदैन् । सुधार केन्द्रहरु सेवामुखीभन्दा पनि नाफामुखी रहेको उनको अनुभव छ ।  

चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था पनि गरिएको हुँदैन । सुगर, प्रेसरका रोगीहरुको स्वास्थ्यमा त्यहाँ आएपछि झनै समस्या देखिन्छ । पैसा लिएपनि नियमित अस्पताल लगिँदैन । घुमफिर गर्ने परिसर, खेल सामग्री र अध्ययन गर्ने पुस्तकालय सुधार केन्द्रमा छ्र्रैन । सूचना र सञ्चारबाट उनीहरुलाई टाढा राखिन्छ । कपिलको भनाइमा सुधार केन्द्र पैसा लिएर दुर्व्यसनी कज्याउने थलो मात्र बनिरहेको छ । 

सुधार केन्द्रहरुले ‘लभ एण्ड केयर’ को अवधारणालाई फलो गर्नुको सट्टा ‘थ्रेट एण्ड पनिस’ को नीति अपनाइरहेका छन् । यसबाट दुर्व्यसनीहरु सुधार केन्द्रबाटै भाग्ने गरेको पाइएको छ । कतिपयले छट्पटिएर आत्महत्या गरेका छन् । यातनाकै कारण उनीहरुको मृत्यु हुने गरेको छ । स्थानीय प्रशासन र प्रहरीले सुधार केन्द्रको निरन्तर अनुगमन गरिरहनुपर्ने कपिल बताउँछन् । सुधार केन्द्रलाई सोझै अनुदान दिन नहुने र तोकिएको मापदण्ड पालना गराउनमा सरकार लाग्नुपर्नेमा उनको जोड छ ।

टिप्पणीहरू