क्रिकेट समर्थक सडकमा, खेलकुद मन्त्री मैदानमा

क्रिकेट समर्थक सडकमा, खेलकुद मन्त्री मैदानमा
सुन्नुहोस्

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अनुगमन गरेका छन् । आज बिहान उनले त्यहाँको निरीक्षण गरेका हुन् । 

त्यसक्रममा मन्त्री श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का लगायतले मैदानको समग्र अवस्थाबारे अवगत गराएका थिए । मन्त्री निरीक्षणमा जाँदा क्रिकेटर सन्दीप लामिछाने पनि मैदानमा भेटिएको र अमेरिकाको भिसा नदिएको विषयमा कुराकानी भएको बताइएको छ । 

अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप पर्सिबाट शुरु हुँदैछ । तर, भिसा नलागेपछि सन्दीप भने अमेरिका जान पाएका छैनन् । जसका कारण नेपालले खेल्ने अभ्यास खेल छुटिसकेको छ । 

जबर्जस्ती करणी आरोपमा जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेसँगै क्रिकेटबाट बाहिरिएका सन्दीपलाई गत जेठ २ गते उच्च अदालत पाटनले सफाइ दिएपछि क्यानले राष्ट्रिय टोलीमा समावेश गरेको थियो । विश्वकप खेल्ले टोलीमा पनि उनी परेका थिए । 

सन्दीपलाई भिसा नदिएको विरोधमा एउटा समूहले काठमाडौँ प्रदर्शन गरिरहेको छ । राप्रपाका नेता तथा सांसद ज्ञानबहादुर शाहीले नेतृत्व गरेको सो समूहले हिजो प्रधानमन्त्री निवास बालुवाटार अगाडि अमेरिका र सरकारविरुद्ध चर्को नाराबाजीसहित धर्ना दिएको थियो ।

सन्दीपलाई भिसा दिलाउन सरकारले कूटनीतिक पहल गरिरहेको छ । सन्दीपसँगको भेटमा मन्त्री श्रेष्ठले परराष्ट्रमन्त्रीले भिसाका लागि अमेरिकी दूतावाससँग समन्वय गरिरहेको जानकारी गराएका छन् ।      

टिप्पणीहरू