रानीको झडपपछि मोरङमा भेला, जुलुस गर्न रोक

रानीको झडपपछि मोरङमा भेला, जुलुस गर्न रोक

विराटनगरको रानीमा धार्मिक दंगा फैलिएपछि मोरङमा जुलुस, भेला र सभा गर्न निषेध गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै राजनीतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधिलगायत कुनैपनि किसिमका र्‍याली, भेला तथा प्रदर्शन गर्न रोक लगाएको हो । आज बिहान १० बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि उल्लेखित गतिविधिमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाहले जानकारी दिए । 

हिजो रामनवमीको कलश यात्रा निकाल्ने क्रममा दुई समूहबीच झडप आठ प्रहरीसहित दर्जनौँ घाइते भएका थिए । त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । 

मुस्लिम समुदायको बसोबास रहेका तराई-मधेसका कतिपय जिल्लामा पछिल्लो समय धार्मिक तथा साम्प्रदायिक विवाद हुने गरेको छ । केही दिनअघि सुनसरीको हरिनगरमा पनि दुई धार्मिक समुदायबीच बिबाद र झडप हुँदा स्थानीय प्रशासनले हप्तौँसम्म कर्फ्यु लगाएको थियो ।

टिप्पणीहरू