के कारणले बढ्यो सशस्त्रमा क्षति ?

के कारणले बढ्यो सशस्त्रमा क्षति ?

सशस्त्र प्रहरीको मुख्य गोदाममा दुई हप्ताअगाडि आगलागी हुँदा करोडौंको सामग्री खरानी हुन पुगेको छ । फौजी प्रयोजनका सामग्री बेलैमा प्रदेशस्थित गोदाममा नपठाएकाले क्षति बढेको दाबी गरिएको छ । गत मंसिरमा गोदाममा दाखिला गरिएको गोल्डस्टार जुत्तालगायत सामग्री वैशाख लाग्दा पनि वितरण गर्ने तारतम्य मिलाइएको थिएन । लेखा उपसमूहका प्रमुख कामु एसएसपी होम ज्ञवाली र भण्डारण प्रमुख एसपी राजेन्द्र श्रेष्ठले गोदाममा दाखिल भएका सामग्री जाँचपास, संख्या गन्तीजस्ता अनेकन झन्झट देखाउँदै वितरणमा ढिलाइ गरेपछि बढी क्षति हुन पुगेको हो । 

गृहसचिवको पदभार सम्हालेको बेला विधिसम्मत रूपमा पूरै कागजपत्रसहित आएको फाइल एक सेकेण्ड पनि रोक्दिन भने पनि एकनारायण अर्यालले वरिष्ठ अधिकृतहरूको सरुवा बढुवाको फाइल ३ हप्तादेखि अध्ययनको नाममा थान्को लगाएको गुनासो छ । सामान्यतया वर्ष दिनमा सशस्त्रका डिआइजी र एसएसपीको सरुवा गर्ने चलन भए पनि १४ महिना पुग्नै लाग्दा जिम्मेवारी हेरफेर भएको छैन । भर्खरै लामपाटन पोखराका दीपक अधिकारी बढुवा भई डिआइजी भएका छन्् । तर उनको खाली दरबन्दीमा बढुवा वा पदपूर्ति गरिएको छैन । एक नम्बर प्रदेशका डिआइजी अञ्जनी पोखरेल, २ नम्बरका दीपेन्द्र शाह, ४ नम्बरका कालीदास धौबजी, उपत्यकास्थित नौ नम्बर बाहिनीका पुरुषोत्तम थापाको पनि सरुवा भएको छैन कुरिनटारका कृष्ण ढकालको समेत सरुवा गरिएको छैन । त्यसैगरी नेपाल प्रहरीमा तीन÷तीन जना डिआइजी पद रिक्त हुँदा पनि पदपूर्तिको साइत जुरेको छैन । 

हालै सम्पन्न एसईई परीक्षाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका जुनियर अधिकृत तथा सिपाहीहरूले पाउने भत्ता गणपति र सहायकहरूले एकमुष्ट बुझाएको आरोप छ । ड्यूटीमा खटिएकाले पाउनुपर्ने हजारौं रकम हाकिमले बुझेर तल्लो दर्जालाई ठण्डाराम बनाएको आरोप खेप्नेहरूमा झापाका कविन्द्र राई, धनुषाका दर्शन गिरी, सप्तरीका धनबहादुर सिंह, बाँकेका विमल डाँगी, कैलालीका दलबहादुर पाण्डे र कपिलवस्तुका रामचन्द्र पांडेलगायत तराई अधिकांश जिल्लाका हाकिम रहेको बताइन्छ । एउटा सेन्टरबाट सुरक्षा भत्ताबापत सशस्त्रका युनिटले करिब १५ हजार रूपैयाँँ र तराईको एउटा जिल्लाबाट करिब २ देखि ३ लाख रूपैयाँसम्म पाउने गरेका छन् ।

– पीडित सिपाहीहरू

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू