बार–बेञ्च फेरि भिड्ने बाटोमा

बार–बेञ्च फेरि भिड्ने बाटोमा

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे शनिबार पोखरामा आयोजित भेलामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि ‘सामन्ती’ को आरोप लगाउँदै खनिए ।

पोखरा उच्च बार र कास्की बारले आयोजना गरेको उक्त भेलामा न्यायपालिकामा अब सुधार होइन पुनःसंरचना नै जरुरी रहेको ठहरसमेत गरिएको छ । पुनःसंरचनाको खाका तय गर्न सर्वोच्च बारका पूर्वअध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा कमिटी नै बनेको बारका एक पदाधिकारीले जानकारी दिएका छन् । बारले आकस्मिक रूपमा पोखराबाट न्यायपालिकाको समग्र पुनःसंरचनाको घोषणा गरेको छ । पोखरा भेलामा बार अध्यक्ष घिमिरेले दिएको उत्तेजक भाषण न्यायपालिकाभित्र चर्चा र आलोचनाको विषय बनेको छ ।

उनले भनेका थिए, ‘न्यायपालिकाको नेतृत्व कानुन व्यवसायीको स्वतन्त्रता चाहँदैन, त्यसको पाउमा लगेर हाम्रो अस्तित्व सेलाइदेओस् भन्ने चाहन्छ । अहिलेको न्यायपालिकाको नेतृत्व फ्युडल (सामन्ती) छ । यसबाट केही आस गर्न सकिँदैन ।’ घिमिरेले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको भन्दा पनि श्रेष्ठको कटु आलोचना गरेका छन् । उनको अभिव्यक्ति वर्तमान प्रधानन्यायाधीश श्रेष्ठप्रति लक्षित थियो । घिमिरेले यसो भनिरहँदा वरिष्ठ अधिवक्ता शाक्य, यदुनाथ खनाल, डा.चन्द्रकान्त ज्ञवाली, टिकाराम भट्टराई, कृष्णबहादुर थापा, बारका उपाध्यक्ष वीरेन्द्र केसी, महासचिव अञ्जिता खनाल, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, यदुनाथ खनाल, उच्च बार र कास्की बारका अध्यक्षहरू मञ्चमै थिए ।

घिमिरेले प्रधानन्यायाधीश श्रेष्ठलाई अनियमिततामा समेत मुछेका छन् । भेलामा उनले भनेका थिए, ‘नेतृत्वलाई राम्रो कार चाहिन्छ, अनुगमनमा जाँदा भत्ता र रेड कार्पेट बिच्छ्याएर सेलुट खानुपर्छ । पुलिसको अधिकारी हो कि न्यायालयको अधिकारी हो, थाहा छैन । न्यायालयको प्रमुखलाई के को रेड कार्पेट ? पुलिसले जस्तो सेलुट खाएर हिँडेको छ । लाजको मर्नु !’ यति मात्र नभै उनले आफू उपस्थित मञ्चमा प्रधानन्यायाधीशलाई उपस्थित हुन डर लाग्ने गरेको समेत बताए ।

चेतावनी दिँदै भने, ‘यदि, शासन गर्नका लागि न्यायालयमा आएको भए शासन गर्न दिइने छैन । पहिला हामी न्यायिक सुधार भन्थ्यौं । सुधारबाट त सम्भव नै रहेनछ । त्यही भएर पुनःसंरचना भनेका हौं । कस्तो पुनःसंरचना भने न्यायाधीशको जरो नै खोतल्नु जरुरी छ ।’ न्यायपरिषद् न्यायाधीश नभएर प्रधानन्यायाधीश मात्र नियुक्त गर्न उद्दत भएको आरोपसमेत उनले लगाए । चाकडी गर्नेलाई मात्र न्यायालयले मन पराउने तर आफूहरू त्यो गर्न तयार नभएको पनि सुनाए । घिमिरेले दिएको भाषणको अडियो रेकर्ड छयाप्छ्याप्ति छ ।

टिप्पणीहरू