सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिन रञ्जिताको निर्देशन

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिन रञ्जिताको निर्देशन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नेपाली काँग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी छिन् ।  

उनले चौधरीलाई पठाएको पत्रमा पार्टीको अस्ति कैलालीको टिकापुरमा बसेको केन्द्रीय कमिटीको निर्णयअनुसार सुदूरपश्चिम प्रदेश सरकार छाड्न भनेकी हुन् । निर्णय अवज्ञा गरेमा पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी छ । 

‘उपरोक्त सम्बन्धमा नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीको बैठक २०८०–१२–१४ गते पार्टी कार्यालय, टिकापुर कैलालीमा बसेको बैठकको निर्णयअनुसार पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय भएकोले सोहीबमोजिम बाहिर आउन निर्देशन गर्दछु अन्यथा पार्टीको विधान आकर्षित गरिनेछु’, पत्रमा लेखिएको छ ।

बुधबारको बैठकले सबै तहका सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने र काँग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

टिप्पणीहरू