बाग्मतीमा ‘लौरो’ उभिएपछि सरकार जोगियो

बाग्मतीमा ‘लौरो’ उभिएपछि सरकार जोगियो
सुन्नुहोस्

बाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्दै आएको हाम्रो नेपाली पार्टी (हानेपा) नयाँ सत्ता समीकरणमा सामेल भएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित एमाले र एकीकृत समाजवादीसँग ५ बुँदे सहमति गर्दै सो पार्टी सत्ता समीकरणमा आबद्ध भएको छ । 

चार पार्टीका नेताले हस्ताक्षर गरेको सहमतिपत्रमा बाग्मती प्रदेश सभाको बाँकी कार्यकालको निम्ति सहकार्य गरेर राजनीतिक स्थायित्व, विकास र समृद्धि दिने उल्लेख छ । त्यस्तै, केन्द्रीय सत्ता समीकरणअनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागी दलका बीचमा प्रदेश सरकारको नेतृत्वमा सहकार्य गर्ने र समीकरणमा आबद्ध दलहरूको प्रतिनिधि रहने प्रदेशस्तरीय संयन्त्र निर्माण गरी साझा न्यूनतम नीति कार्यक्रम बनाई त्यसको मार्गदर्शनमा सरकार अघि बढ्ने चार दलको सहमति छ ।

  

बाग्मतीमा सरकार गठनका लागि निर्णायक संख्या लिएर बसेको हानेपाले तटस्थ रहने बताउँदै आएको थियो । नयाँ सरकार गठनका लागि दुबै गठबन्धनका नेताहरुले आन्तरिक छलफल तीब्र बनाइरहेका बेला उक्त पार्टीले पाए आफैँ नेतृत्व गर्ने तर अन्त कतै नलाग्ने औपचारिक निर्णय नै गरेको थियो । 

बाग्मती प्रदेशमा अहिले माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । केन्द्रमा नयाँ समीकरण बनेसँगै नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री शालिकराम जमरकट्टेल अल्पमतमा पुगेका हुन् ।

सरकार जोगाउने र नयाँ सरकार बनाउनेबीच आन्तरिक हिसाब र रस्साकस्सी चलिरहँदा दुई सिटको हानेपाको समर्थन पाएसँगै जमरकट्टेलको सरकार तत्कालका लागि जोगिएको छ । 

११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सीट आवश्यक पर्छ । नयाँ गठबन्धनका दलहरु एमाले २७, माओवादी केन्द्र २१, एकीकृत समाजवादीको सात र हानेपाको दुई सांसद एक ठाउँमा उभिँदा बहुमत अर्थात् ५७ हुन्छ । 

गत आमचुनावमा लौरो चिन्ह लिएर उठेका हानेपाले यसअघि संघमा उत्पन्न अस्थिरताको बाछिटा बाग्मती प्रदेशमा परेको जनाउँदै सत्ता बनाउने र टिकाउने खेलमा आफ्नो पार्टी संलग्न नहुने बताउँदै आएको थियो ।

तर, आजको सहमतिसँगै सो पार्टी सरकारमा सहभागी भएको छ । हानेपाको तर्फबाट प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री बनेका छन् ।

टिप्पणीहरू