सहमति कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने सहकारी बचतकर्ताहरुको चेतावनी

सहमति कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने सहकारी बचतकर्ताहरुको चेतावनी
सुन्नुहोस्

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आठ बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई एक महिनाको अल्टिमेटम दिएको छ । महासंघले एक महिनाभित्र सहमति कार्यान्वयन नभएमा पुनः आन्दोलन गर्ने चेतावनी दिएको छ । 

महासंघमा आबद्ध ३१४ वटा सहकारी संस्थाका बचतकर्ताको माग सम्बोधनका लागि पर्सिदेखि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय धाउने अध्यक्ष कुशलव केसीले बताए । सरकारले यसअघि पनि सहमति गरेर झुल्याउने कार्य मात्र गरेकाले हात बाँधेर बस्न नसकिने उनको भनाइ छ । 

‘सरकारले यसअघि पनि हामीसँग सहमति गरेको थियो । तर, कार्यान्वयन नगरेपछि हामी पुनः आन्दोलनमा उत्रिनुपर्यो । योपटक सहमति गर्दा म थिइनँ । प्रहरीको कुटाइले गर्दा उपचारका लागि अस्पताल भर्ना भएको थिएँ । साथीहरुले आत्तिएर सहमति गर्नुभएछ । एक महिनाभित्र सहमति कार्यान्वयन नभएमा पुनः आन्दोलन गर्छौं । पर्सिदेखि हामी निरन्तर मन्त्रालय धाउँछौ । सरकारलाई दबाब दिन्छांै’, उनले भने । 

आफ्नो बचत फिर्ता गर्न र सहकारी सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सहकारी पीडितहरुले चैत १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गरेका थिए । चैत ८ गते सहकारीमन्त्री बलराम अधिकारी र उनीहरुबीच आठ बुँदे सहमति भएको हो । 

सहमतिपत्रमा समस्या देखिएका सहकारी संस्थाहरुको निरीक्षण एवम् हिसाब जाँच गर्ने, पीडित संघर्षरत बचतकर्तासमेतको प्रतिनिधित्व रहेको समिति गठन गर्ने, समितिको सिफारिसमा सरकारले समस्याग्रस्त सहकारी घोषणा गरी एकद्वार प्रणालीमार्फत् त्यस्ता सहकारीको सम्पत्ति र दायित्वको फरफारक गरी बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया अविलम्ब अगाडि बढाउने, सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम कसूर गर्ने सहकारीका सञ्चालक, व्यवस्थापन र संलग्न कर्मचारीहरुलाई कानुनबमोजिम तत्काल कारबाहीको दायरामा ल्याउनेलगायत उल्लेख छ ।

टिप्पणीहरू